जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार २१:१३

कास्कीको छोरीका रुपमा सक्रिय राजनीतिमा आएको छु – विद्या भट्टराई


पोखरा, कात्तिक १८

कास्की–२ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि सत्तारुढ नेकपाकी उम्मेद्धार विद्या भट्टराईले पार्टीको प्रतिष्ठा बढाउने र निरन्तर सक्रिय राजनीति गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाले कास्कीकी छोरीका रुपमा उम्मेद्धार भएको बताउदै पार्टीको प्रतिष्ठालाई कायम राख्ने बताउनु भएको हो ।

नेकपा कास्की जिल्ला कमिटिको बैठकमा उहाले पार्टीको प्रतिष्ठा बढाउने र निरन्तर सक्रिय राजनीति गर्ने प्रतिवद्धता जनाउनु भयो । राजनीतिबाट टाढा रहेको व्यक्तिलाई उम्मेद्धार बनाएको विषय कता कता उठ्न थालेपछि उहाले त्यसको जमेर जवाफ समेत दिनुभएको छ । ‘मैले हिजो किन राजनीति छोडेँ भन्ने प्रश्न छ, यसमा विवाहपछि महिलाको फरक जिम्मेवारी अवश्य हुन्छ । त्यसको जिम्मेवारीमा म पनि परेँँ र परिवारलाई सम्हाल्नका निम्ति पनि म सक्रिय राजनीतिबाट पछि हटेकी हुँ,’ विद्याले कास्कीका नेकपा नेता कार्यकर्ताबीच प्रतिवद्धता जनाउदै भन्नुभयो, ‘तर, मैले राजनीति छोडेकी होइन । पार्टीले दिएको जिम्मेवारीलाई न्याय अवश्य पुर्‍याउने छु ।’ प्राध्यापन पेशामा रहँदा पनि कुनै न कुनै हिसाबले पार्टीलाई सहयोग गर्दै आएको उनले बताइन् ।

हिजो एउटा पत्नीको रुपमा रवीन्द्रलाई सहयोग गरेको बताउँदै विद्याले अब पार्टीको विचार र सिद्धान्तलाई शिरोपर गर्ने बताउनु भयो । ‘मैले जसरी एउटी पत्नीका रुपमा रवीन्द्रलाई सहयोग गरेँ । रवीन्द्रको व्यक्तित्व निर्माणमा मेरो पनि महत्वपूर्ण भूमिका छ भनेर नै पार्टीले मेरो योगदानलाई चिनेरै मलाई उम्मेदवारका रुपमा उपयुक्त ठानेको होला भन्ने मलाई लाग्छ,’ विद्याले भन्नुभयो, ‘यस हिसाबले म पार्टीको विचार, सिद्धान्तलाई शिरोपर गर्दै फेरि सक्रिय राजनीतिमा आएकी छु ।’ सोमबारको बैठकपछि भोलि मंगलबार पत्रकार सम्मेलन गरेर चुनावी तयारी र नेकपाका एजेण्डा सार्वजनिक गर्ने तयारी थालिएको नेताहरुले बताएका छन् ।