जनता टाइम्स

१९ कार्तिक २०७६, मंगलवार ०९:५१

प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ


काठमाडौं, कात्तिक १९

राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक विशेष कार्यक्रममा उहाले शपथ ग्रहण गराउनु भएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष लगायतका विशिष्ठ व्यक्तिको सहभागीता रहेको थियो । स्रोतका अनुसार सातै प्रदेश प्रमुखले आजै आआफ्नो प्रदेशमा गएर कार्यभार सम्हाल्ने तयारीमा हुनुहुन्छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गर्नुभएको थियो ।

नियुक्त भएका प्रदेश प्रमुखमा सोमनाथ अधिकारी प्यासी — प्रदेश १, तिलक परियार—प्रदेश २, विष्णु प्रसाईं—प्रदेश ३, अमिक शेरचन—गण्डकी प्रदेश, धर्मनाथ यादव—प्रदेश ५, गोविन्द कनौली —कर्णाली प्रदेश र शर्मिलादेवी पन्त सुदूर पश्चिम प्रदेश रहनु भएको छ ।