जनता टाइम्स

१९ कार्तिक २०७६, मंगलवार १०:५९

प्रदेश प्रमुखमा माधव नेपालको असन्तुष्टि होइन फरक मत मात्र हो : अध्यक्ष प्रचण्ड


नेपालगञ्ज, कात्तिक १९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुखको नियुक्तिको विषय ठुलो नभएको बताउनु भएको छ । उहाले सरकार परिवर्तनसँगै यो पनि परिवर्तन हुने बताउदै केपी शर्मा ओली नेतृत्वको सरकार उदार भएकाले दुई वर्ष काम गर्न दिएको उल्लेख गर्नुभयो ।

नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाले प्रदेश प्रमुख नियुक्तिमा बरिष्ठ नेता माधवकुमार नेपालले लेख्नु भएको ‘नोट अफ डिसेन्ट’ पनि स्वभाविक नै भएको प्रतिक्रिया दिनुभयो । सोमबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नातर्फबाट प्रदेश प्रमुखका लागि केही नाम प्रस्ताव गरे पनि नपरेपछि नोट अफ डिसेन्ट लेख्नु स्वभाविक नै भएको बताउनु भयो ।

‘माधवजीले एक–दुई जनाको नाम पारौं भन्ने जोड दिनुभएको थियो। बैठकले त्यो निर्णय गरेन। उहाँलाई चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य र स्वभाविक प्रक्रिया हो,’ प्रचण्डले भन्नुभयो, ‘उहाँले म मान्दिनँ भन्नुभएको छैन, मेरो भिन्न मत राख्छु भन्नुभएको छ , पार्टीमा त्यो स्वभाविक हो ।’

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले प्रदेश ५ को राजधानीका विषयमा सबैलाई सुविधा हुने गरी ठाउँ तय हुने पनि स्पष्ट पार्नुभयो । उहाले नयाँ ठाउलाई पनि प्रदेशको राजधानी बनाउन सक्ने संकेत गर्नुभएको छ । ‘जनताको हितलाई हेरेर राजधानीको टुंगो लगाउनुपर्छ। त्यस्तो सेन्टर जुन नयाँ बजार बनाउन पनि सकिन्छ। पूरानै सहरमा बनाउनुपर्छ भन्ने पनि छैन,’ उहाको भनाई छ ।