काठमाडौं, १४ जेठ । हाल कर्णाली, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । बङ्गालको खाडी र उत्तरपूर्वी भूभागका बाँकी भूभाग तथा पश्चिम बङ्गाल र सिक्किमका केही भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ।आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
आज राति बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ ।सरदर मितिभन्दा छिट्टै मनसुन प्रवेश गर्ने सम्भावना देखिएको छ । महाशाखाले हिजो मनसुन आगमन अनुगमन बुलेटिन जारी गरी नेपालको पूर्वी क्षेत्रमा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ तारिख भए पनि यसपटक अगाडि नै आउने संकेत देखिएको जानकारी दिएको थियो ।गत वर्ष पनि मनसुन औसत मितिभन्दा ३ दिनअघि जुन १० तारिखका दिन नेपाल भित्रिएको थियो।
मनसुन भित्रिएपछि बर्खा शुरू भएको मानिन्छ। अहिले भने नेपालमा मनसुन भित्रिनुअघिको सिजन प्रि–मनसुन चलिरहेको छ । यसपटक मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्