जनता टाइम्स

१९ कार्तिक २०७६, मंगलवार १७:२१

इँटाभट्टामा काम गर्ने मजदुरको बयान : आलमको नेतृत्वमा तीन घण्टा लगाएर जलाइयो बिष्फोटका घाइते


रौतहट, कात्तिक १९ । रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमले घटना लुकाउन अत्यन्तै क्रुर हर्कत गरेको तथ्य बाहिर आएको छ । घटनाका एक प्रत्यक्षदर्सीले प्रहरीमा दिएको बयानले आलमको त्यो क्रुरता बाहिर आएको हो ।

रौतहटकै राजपुरमा २०६४ साल चैत २७ गते साँझ ६ः३० बजे बम बनाउने क्रममा बिस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका कांग्रेस नेता आलमले तीन घन्टा लगाएर जिउँदै मान्छे इटाभामा जलाएको पाइएको हो । घटनाका सम्बन्धमा १२ वर्षपछि प्रहरी र सरकारी वकिलसमक्ष तात्कालिन समयमा राजा इँटा भट्टामा काम गर्ने बारा निवासी लखिन्द्रले बयान दिँदै आलमको कर्तुत सार्वजनिक गरेका हुन ।आलमले घटना हुँदा आफ्नो भाइ सोही स्थानमा रहेको भन्दै भाइले बताएअनुसारको बयान प्रहरी र सरकारी वकिललाई दिएका हुन ।

यस्तो छ लखिन्द्र बयान

म मतदानको अघिल्लो दिन २०६४ साल चैत २७ गते अरू दिनझैँ बिहान ७ बजेदेखि ११ बजेसम्मको ड्युटी सिफ्ट समाप्त गरी घर फर्केको थिएँ । २८ गतेका दिन बिहान सिफ्टमा काम गर्न सो गाउँ पुग्दा गाउँमा मतदानको चटारो थियो । गाउँलेहरूले बम बिस्फोट भएकोबारे गाइँगुइँ कुरा गरेको सुने । उद्योगमा पुगी मेरा भाइ प्रभुलाई आफूले गाउँमा सुनेको हल्लाबारे सोध्दा चुपचाप काम गर्ने, अरू कुरा हाम्रो चासोको विषय होइन भनी जवाफ दियो । रातको सिफ्टमा मेरो भाइसँगै काम गर्ने अन्य ३ जना मेरै गाउँका बद्री सहनी, मुक्ति शाह, बारा बसतपुरका कृष्ण मुखियासमेतले मुखामुख मात्र गर्र्थे तर केही बोलेनन । मलाई मनमा चिसो पस्यो ।

पुनः सोही कुरा सोध्दा पछि थाहा पाउला भन्ने जवाफ पाएँ । म आफ्नो काम सुरु गरेँ र ११ बजे आफ्नो सिफ्ट ड्युटी सकी हतारहतार मतदान गर्न आफ्नो गाउँ सिम्रौनगढ फर्किएँ । बम बिस्फोटनको हल्ला मेरो गाउँ बारासम्म फैलिइसकेको रहेछ । सबैले मलाई नै घटनाबारे के भएको हो भनी सोध्ने गर्दथे । मैले सुनेको मात्रै हो, अरू थाहा छैन भनी जवाफ दिने गर्दथेँ । मतदानको भोलिपल्ट चैत २९ गते पुनः बिहान ७ बजे म काममा पुगेँ । इँटा बोकी म्यान नजिकमा पुग्दा अस्वाभाविक रूपमा गहुँको भुसा छरपष्ट भएको देखेँ । मेरो भाइ त्यही भएको कारण मैले यो भुसा कसरी यहाँ आयो ? तिम्रो रातको सिफ्ट ड्युटी थियो, के भएको हो भनी सोध्दा भाइले एकान्तमा लगी घटनाबारे सबिस्तार सुनाए ।

भाइले बताएअनुसार २७ गते साँझ सेख इन्द्रिसको गोठमा नेता मो. आफ्ताव आलमलगायतका मानिसहरूले चुनाव जित्नका लागि बम बनाउने क्रममा अचानक बिस्फोट हुँदा ठूलो मानवीय क्षति भएको सो घटनामा परी केही मानिसको मृत्यु भएको त केही मानिसहरू सख्त घाइते भएको, घाइते भएकाहरूलाई हिजो राति २७ गते ट्याक्टरमा लोड गरी मोहम्मद अफ्ताव आलम, मोहमद महताब आलम, शेख भदई, मोहमद मोबिन आलम, शेख सेराज लगायत अन्य नचिनेको हिन्दी भाषा बोल्ने ३–४ जना समेतले ल्याई इँटा पकाउने भुङ्ग्रोमा जिउँदै पालैपालो हालेको, सबैजना सोही भुङ्ग्रोमा खरानी भएको बतायो ।’

राजेशप्रसाद सहनीको बयान

घटनाको १२ वर्षपछि राजेशप्रसाद सहनीले पनि आफ्नो बयान दिएका छन ।

यस्तो छ सहनीको बयान :

राति करिब १२ः३० बजेदेखि १ः०० बजेको बीचको समयमा ट्याक्टरको आवाज र मानिसहरूको खैलाबैलाले मेरो निद्रा भङ्ग गरायो । म उठे, के रहेछ, रातको समयमा किन ट्याक्टरमा मानिस आएका हुन् भनी बुझ्न मन लाग्यो, नजिक गए । ट्याक्टर नजिक पुग्दा मोहमद अफताब आलम, निजका भाइ मोहमद महताब अलाम लगायत करिब आधा दर्जन मानिसहरू थिए, उनीहरू नेता भएकाले मैले चिनेँ । अरूलाई चिन्न सकिन कोको थिए, तर बद्री सहनी समेत सोही ट्याक्टरमा सँगै आएका रहेछन् । ट्याक्टरमा जुटको बोरामा मानिस हालेर ल्याएका रहेछन् । त्यो देखेर म धेरै डराए, मलाई निजहरूले ठूलो स्वरमा त्यहाँबाट टाढा जान आदेश दिए । म केही पर गएँ, बोरामा ल्याएका मानिसहरू पालैपालो निकाल्दै इँटा पोल्ने भुङ्ग्रोमा हाल्न लागे । निजहरूले कति मानिसहरू ल्याए, यकिनका साथ संख्या भन्न सक्दिनँ । मलाई केही पर पठाएको कारण गन्न सकिन, जसमध्ये कोही जिउँदै पनि हुनुपर्छ किनकि मैले बोरामा चलमलाएको देखेको थिएँ । उनीहरू करिब ३ घण्टा लगाएर जलाई सकेपश्चात सबै जना गाउँतिर फर्केका थिए ।