जनता टाइम्स

१६ जेष्ठ २०८२, शुक्रबार १८:५७

उच्च अदालतको सफाइलगत्तै जेलमुक्त भएका आफताव आलमलाई मस्तिष्कघात, कस्तो छ पछिल्लो स्वास्थ्य अवस्था ?


काठमाडौं, जेठ १६ । जिउँदै इटाभट्टामा हालेर मान्छे मारेको अभियोगमा उच्च अदालतले सफाइ दिएका नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । मस्तिष्कघातपछि उहाँको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका चिकित्सकका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको छ । आलमलाई परिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पुर्याएकोे भएपनि बिहान सात बजेतिर मस्तिष्कघात भएको अनुमान चिकित्सकको छ ।

‘उहाँ अस्पताल आइपुग्दा बोली लरबरिएको थियो भने दाहिने हर कमजोर अवस्थामा थियो,’ उपचारमा संलग्न एक चिकित्सकले भने । उनका अनुसार एमआरआई गरेर हेर्दा एक्युट स्ट्रोक देखिएको छ ।

बम विस्फोटका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा जिल्लाबाट दोषी करार भएका कांग्रेसका पूर्वसांसद आलमसहित चार जनालाई बुधबार उच्च अदालतको वीरगञ्ज इजलासले ज्यान मुद्दामा सफाइ दिएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौटहटमा विस्फोट भएको थियो । कांग्रेस उम्मेदवार आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।