जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार १७:४३

देश लुट्ने र विकास रोक्ने राजतन्त्र फर्काउँछु भन्न लाज लाग्नु पर्ने हो : प्रधानमन्त्री 


काठमाडौं, १७ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रको कारण नेपाल विकासमा पछि परेको बताउनुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै नेपाली जनताले राजतन्त्र विरुद्ध लडेर लोकतन्त्र ल्याएका स्मरण गराउनुभयो ।  सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्न पनि सबै लाग्नु पर्ने उहाँको धारणा छ ।

प्रधानमन्त्री ओलीले राजावादीहरूले दान दक्षिण दिएर गणतन्त्रका विरुद्ध आयातित मानिसहरू प्रदर्शन गरेका बताउनुभयो । जेठ १५ गते एमालेले मनाएको गणतन्त्र दिवसलाई जोडेर राप्रपाले गणतन्त्र र राजतन्त्रको जनमत भयो भनि दिएको अभिव्यक्त केटाकेटीले खेलेको बेला गर्ने कुरा जस्तै भएको उहाँको भनाइ छ । ‘पहिलो दिन दान दिएर केही मान्छे ल्याइए, दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गए, मेरो नातिले जिस्किएर म डाइनोसर भएँ डर लागेन भनेर खेलेको याद आयो’, उहाँले भन्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राजतन्त्र फर्काउँछु भनेर केटाकेटीले डर देखाए जस्तो व्यवहार नगर्न उहाँले चेतावनी दिनुभयो । ‘अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो, अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज, घोडाले लात्ताले हान्न सक्छ, होस् गर’, उहाँले भन्नुभयो ।

ओलीले अढाई सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो र अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गर्नुभयो । ‘दरबार हत्याकाण्डपछि कुशको बाहुनजस्तो नक्कली राजतन्त्र आयो, त्यसले झन् निरङ्कुशता लाद्यो, जनताको अधिकार खोस्यो, विकास गरेन, देश लुटेर, संविधानभन्दा माथि बसेर पैतृक सम्पत्ति थुपार्‍यो । अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो’, उहाँले भन्नुभयो ।

आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनु जनताको उत्तरदायित्व  भएको उहाँले प्रष्ट पार्नुभयो । ‘प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी  फेर्छौँ तर प्रतिगमन अब सम्भव छैन’, प्रधानमन्त्रीले भन्नुभयो ।

फरक प्रसङ्गमा चिकित्सा विज्ञान यो तहमा नपुगेको भए र अस्पताल नभएको भए आफ्नो बिसौँ वार्षिक पुण्य तिथि सकिइसकेको हुने बताउँदै ओलीले चिकित्सा क्षेत्रको महत्त्व मान्छेको आयुसँग जोडिएको बताउनुभयो । त्यसैले स्वास्थ्यकर्मी सचेत नागरिक भएकाले राष्ट्रिय दायित्वमा पनि लाग्न उहाँले आग्रह गर्नुभयो ।