जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १०:१८

महरा प्रकरणमा प्रचण्डले खोल्नु भयो मुख : घटनाबारे शुरुमा महराले झुट बोले खुलासा


दाङ, कात्तिक २०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्वतमान सभामुख कृष्णबहादुर महराले आफुसँग झुट बोलेको खुलासा गर्नुभएको छ । घटना सार्वजनिक भएपछि आफुले भेट्न जाँदा पनि महराले घटनाको सत्यतथ्य नबताएको बताउनु भएको हो । यद्यपी प्रचण्डले महराले नैतिक गल्ती गरेकाले सजायको छिनोफानो अदालतले गर्ने स्पष्ट पार्नुभयो ।

दाङ स्थित महराको निर्वाचन क्षेत्र घोराहीमा बुधबार प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले महराले कुनै अपराधिक नभई नैतिक गल्ती गरेको स्पष्ट पार्नुभयो । ‘यो विषय अदालतमा गएकाले राजनीतिक रुपमा धारणा राख्नु उचित होइन’, उहाले भन्नुभयो, ‘उच्च आहोदामा पुगेको व्यक्तिबाट त्यस्तो गल्ती हुनुहुँदैनथ्यो ।’

महराका बारेमा सञ्चार माध्यमा समाचारहरु आएपछि आफूले पार्टीका नेता नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई भेटेर सोध्न पठाएको तर, त्यहाँ महराले सत्य कुरा नगरेपछि स्वयम आफू महरालाइ भेट्न पुगेको जानकारी समेत दिनुभयो । तर, आफूसँगको भेटमा महराले सत्य कुरा नबताएको प्रचण्डले बताउनु भयो ।

‘सत्य कुरा बताउनु भएन । उच्च ओहोदामा पुगेको व्यक्तिबाट यस्तो खालको जवाफ आउनु उहाँको पहिलो गल्ती नै त्यहीँ हो’, उहाले भन्नुभयो, ‘महराको गल्ती क्रिमिनल होइन, नैतिक हो ।’