जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १०:४३

सौर्य एयरलाइन्सको बदमासी : साँझका यात्रुलाई मध्यराति विमानस्थलमा ल्याएर छाडिदियो (भिडियोसहित)


काठमाडौं, कात्तिक २०

साँझ ६ बजे उडाउनुपर्ने यात्रुलाई सौर्य एयरलाइन्सले मध्यरातमा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याएर छाडिदिएको छ । भैरहवाबाट काठमाडौंका लागि साँझ ६ बजे उड्नुपर्ने सौर्य एयरलाइन्सको जहाज मंगलबार राती ११ बजे मात्र उडेपछि यात्रुहरुले नागरिक उड्ययन प्राधिकरणमा उजुरी दिएका छन् ।

काठमाडौंमा जहाज अबतरण गरेपछि यात्रुहरूले एयरलाइन्सको लापरवाहीले आफूहरूले दुःख पाएकोमा माफी माग्नुपर्ने माग गर्दै ओर्लिन अस्विकार गरेका थिए । उनिहरुले विमानका कर्मचारीको व्यवहारपनि अभद्र भएको भन्दै उनिहरुलाई पनि कारवाही गर्नुपर्ने माग गरेका छन् । यात्रुहरुले केही समय विमानभित्रै भद्र आन्दोलन गरेपछि एयरलाइन्सका कर्मचारीले माफी मागेका थिए । त्यसपछि मात्रै विमानबाट यात्रुहरु ओर्लिएका थिए । त्यससँगै सौर्य एयरलाइन्सलाई कारवाहीको माग गर्दै सम्पूर्ण यात्रुहरूको हस्ताक्षर संकलन गरेर एयरलाइन्स विरूद्ध नागरिक उड्यन प्राधिकरणमा उजुरीसमेत दिएका हुन् ।

सौर्य एयरलाइन्ससँग एउटामात्र विमान छ। उसले देशका विभिन्न गन्तव्यमा सोही विमानबाट उडान गर्ने गरेको छ। यसले गर्दा एउटा उडान प्रभावित हुने बित्तिकै उसका सबै उडानहरूको तालिका प्रभावित हुने गरेको छ ।

सौर्य एयरलाइन्सका बजार प्रबन्धक मुकेश खनालले पनि हिजो उडान ढिला भएको स्वीकार गरे । खनालका अनुसार बिहान ६ बजे खुल्नुपर्ने भैरहवा विमानस्थल १० बजे खुलेकाले उडानहरू रातिसम्मै प्रभावित भएको दावी गर्नुभयो । त्योसँगै उहाले जहाजमा प्राविधिक समस्या आएकाले पनि उडान ढिला भएको स्विकार गर्नुभयो । सौर्य एयरलाइन्सले आजदेखि आफ्नो उडान संख्यामा कटौती गर्दै अब दैनिक ४ उडान गर्ने बताएको छ।