जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार ११:१२

अध्यक्ष प्रचण्डको घोषणा : सरकारको नेतृत्व आधा-आधा समय गर्ने कुरा इतिहास भइसक्यो


दाङ, कात्तिक २० । सत्तारुढ नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आधा-आधा समय सरकारको नेतृत्व लिने कुरा इतिहास भइसकेको घोषणा गर्नुभएको छ । प्रेस संगठन नेपाल दाङले घोराहीमा आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले सो घोषणा गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली नेतृत्वको बर्तमान सरकार नै पाँच वर्षसम्म स्थायी रूपमा चल्ने प्रष्ट पार्नुभयो । सरकारको नेतृत्व आधा-आधा समय गर्ने कुरा इतिहास भइसक्यो, यही सरकार नै पाँच बर्षसम्म रहन्छ, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

उहाँले हालै भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलाई भारतभित्र समेटिएको कुरामा सरकारको ध्यान गएको बताउनुभयो। भारत भ्रमणका समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लिपुलेकका बारेमा कुरा गरेको उल्लेख गर्दै यो सच्चिनुपर्ने बताएको जानकारी पनि उहाँले दिनुभयो ।