जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार ०६:५४

खाडीमा विदेशी कामदारहरू अत्यधिक गर्मीका कारण जोखिममा


काठमाडौं, १९ जेठ ।  खाडीमा विदेशी कामदारहरू अत्यधिक गर्मीका कारण जोखिममा रहेका छन् । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ‘ह्युमन राइट्स वाच’ ९एअचारडब्ल्यू० ले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान गर्न देशहरूलाई आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पृथ्वीको सबैभन्दा तातो क्षेत्रहरूमध्ये एक मानिने मध्यपूर्वका संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार र कुवेतमा आप्रवासीहरूले श्रमशक्तिको ठूलो हिस्साको प्रतिनिधित्व गर्छन् । यहाँ ग्रीष्मकालीन तापमान प्रायः ५० डिग्री सेल्सियससम्म पुग्छ ।

ह्युमन राइट्स वाचका मध्यपूर्वका उपनिर्देशक माइकल पेजले खाडी देशहरूले प्रमाणमा आधारित श्रम सुरक्षामा पछि हटिरहेका र सम्भावित सुरक्षा उपायलाई अवलम्बन नगरिँदा आप्रवासी कामदारहरूले अनावश्यक रूपमा ज्यान गुमाउने गरेका बताउनुभएको छ । रोजगारदाता देशहरूले यस मौसमजन्य समस्यामा असावधानी देखाइदिँदा कामदारहरू मिर्गौला फेल हुने र अन्य दीर्घरोगबाट पीडित हुने गरेका उहाँले बताउनुभयो ।

धनी खाडी देशहरू विशेषगरी निर्माण क्षेत्रमा काम गर्ने लाखौं आप्रवासी कामदारहरूमा अत्यधिक निर्भर छन् र त्यहाँ निर्माण क्षेत्रमा काम गर्ने अत्यधिक श्रमिक नेपाल, भारत, पाकिस्तानलगायतका एशियाली देशका रहेका छन् ।

गएको महिना यूएईमा लगातार दोस्रो दिन मे महिनाको तापक्रम ५१ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो । कामदारहरूको सुरक्षाका लागि देशहरूले लामो समयदेखिको ‘मध्याह्न ब्रेक’ नीतिको एक भागका रूपमा मध्य जुनदेखि मध्य सेप्टेम्बरसम्म प्रत्यक्ष सूर्यको प्रकाश र तातो चल्ने क्षेत्रमा अत्यधिक गर्मीको समयमा काम गर्न प्रतिबन्ध लगाएका छन् ।

तर खाडी विशेषगरी जलवायु परिवर्तनको जोखिममा रहेकाले एचआरडब्ल्यूले यी अत्यधिक गर्मीको अवस्था आजभोलि दिउँसो आराम गर्न दिने समय शुरू हुनुभन्दा पहिले मे महिनादेखि नै शुरू हुन थालेको बताएको छ ।