जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १३:२१

बूढानीलकण्ठ वेद विद्याश्रमको सहयोगका लागि महायज्ञ


काठमाडौं, कात्तिक २०

हरिबोधिनी एकादशीको अवसर पारेर बूढानीलकण्ठस्थित वेद विद्याश्रमको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई सभ्यताको पाठ सिकाउन गुरुकुलीय शिक्षा पद्धतिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । समाजमा सुसंस्कार फैल्याउनसमेत प्राचीनकालदेखि गुरुकुलले योगदान गर्दै आएको उहाँको भनाइ छ ।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द मूल कर्ता रहनुभएको महायज्ञ कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा बूढानीलकण्ठ नारायणस्थान मठका स्वामी निगमानन्द, महायज्ञ मूल आयोजक समितिका अध्यक्ष कल्पना मल्ल ठकुरी, उपाध्यक्ष ध्रुव केसी, गुरुकुलका प्राचार्य प्रकाश रुपाखेती लगायतले गुरुकुल सञ्चालनका लागि महायज्ञ गरिएकाले मन, वचन र कर्मले सहयोग गर्न आह्वान गर्नुभयो ।

महायज्ञमा पण्डित कपिलदेव सुवेदीले श्रीमद्भागवत पाठ पारायण एवं कथा वाचन गर्नुहुनेछ । कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठमा भक्तजनको विशेष भीड लाग्छ । यस अवसरमा नारायणस्थानमा मेला समेत आयोजना गरिएको मठले जनाएको छ । मेला कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म अर्थात् कात्तिक २२ गतेदेखि २६ गतेसम्म चल्ने जनाइएको छ ।

भारतीय राजदूतावासको रु दुई करोड ४६ लाख सहयोगमा निर्माण भएको मठाधीश भवन आजै हस्तान्तरण हुने भएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले हस्तान्तरण गर्नुहुने जनाइएको छ । तीन तले उक्त भवनमा ठूूला १० कोठा छन् । भवन गुरुकुलका लागि समेत उपयोगमा ल्याइने जनाइएको छ । बूढानीलकण्ठ विश्वमै ठूलो ढुङ्गामा कुँदिएको प्राचीन मूर्ति हो । जलभित्र शयन गर्नुभएका हरि र हर अर्थात् विष्णु र शिव दुवैको मूर्ति रहेकाले यसलाई अद्वितीय मानिन्छ ।