जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १३:५३

कांग्रेस नेता गुरुङको चुनाव लड्ने च्याप्टर क्लोज, स्थानीयलाई नै टिकट दिन सुझाव


काठमाडौं, कात्तिक २०

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता धनराज गुरुङले कास्की क्षेत्र नम्बर २ बाट चुनाव नलड्ने भएका छन्। मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कास्की २ मा कांग्रेसका तर्फबाट गुरुङ उम्मेदवार हुने चर्चा थियो। तर, सभापति शेरबहादुर देउवाको निवासमा उम्मेदवार छान्न जारी पदाधिकारी बैठकमा गुरुङले स्थानीयलाई टिकट दिन सुझाव दिएका हुन्। अब कांग्रेसले गुरुङलाई उम्मेदवार नबनाउने भएको छ ।

गुरुङ स्वयंले आफू उम्मेदवार नबन्ने जानकारी पदाधिकारी बैठकमा गराउनुभएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रुपमा भइरहेका चर्चाको खण्डन समेत गर्नुभएको छ । उहाँले ट्वीटरमार्फत पदाधिकारी बैठकमै धनराज गुरुङ उपस्थित भएर स्थानीय साथीहरुलाई नै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गरेको जनाउनुभएको हो ।

पूर्वसभासद गुरुङ स्याङ्जामा जन्मिनुभएको हो । उहाँले कास्की २ मा टिकट पाउन लागेको भनी प्रचार भइरहेको बेला कांग्रेसले आधिकारिक रुपमा गुरुङको उम्मेदवारीको सम्भावना नरहेको प्रष्ट पारेको हो । उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन बिहीबार हुँदैछ । कांग्रेसले अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन ।

कास्की २ बाट निर्वाचित तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यहाँ मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। सत्तारुढ नेकपाले भने यहाँ अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।