जनता टाइम्स

२० जेष्ठ २०८२, मंगलवार २२:५०

वाग्मती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामेछापलाई एक स्वर्ण सहित १८ पदक 


रामेछाप, २० जेठ  । वाग्मती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार दोलखाको चरिकोटमा सम्पन्न भएको छ ।

१५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामेछापले कूल १८ पदक जितेको छ । जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्कीका अनुसार रामेछापले १ स्वर्ण, ९ रजत र ८ कांस्य पदक तिलेको छ ।

रामेछापका विज्ञान तामाङले एकमा स्वर्ण पदक जित्नु भएको छ । उहाँले सटफुटमा रामेछापलाई स्वर्ण पदक दिलाउन सफल हुनु भएको हो ।

अध्यक्ष कार्कीका अनुसार मुना देवी माझीले ४ सय मिटर दौड, अर्जुन बस्नेतले ८ सय मिटर दौड¸ मिलन खपाङ्गीले कराँते ५२ केजी समूह¸ एलिना कार्कीले उसु साम्सो ४५ केजी समूह¸ निश्चल सुनुवारले उसु साम्सो ४५ केजी समूह र अनीश सुनुवारले उसु साम्सो ४८ केजी समूहमा रजत पदक जित्नु भएको छ ।

त्यस्तै सुस्मिता सुनुवार¸ शिवमाया काकी¸ सोफिया सुनुवार¸ एलिसा श्रेष्ठ¸ सलिना विक¸ आङङ्गीमा शेर्पा¸ सरिता थापा¸ निरुता श्रेष्ठ¸ मनीषा मुरी मगरले महिला भलिबलमा¸ सम्पदा भुजेल¸ मुनादेवी माझी¸आश्विन खड्का¸मन्दिरा बस्नेतले ४ सय मिटर रिले छात्राको रिले दौडमा रजत पदक जित्नु भएको छ । यसै गरी सम्पदा भुजेल¸मुनादेवी माझी¸ कञ्चन श्रेष्ठ र अम्बिका खड्काले १ सय मिटर रिले छात्रा तर्फको दौडमा रजत पदक  प्राप्त गर्नुभएको छ ।

त्यसै गरी सृष्टि नेपाली दर्जीले ८ सय मिटर दौड¸ मन्दिरा बस्नेतले ३ हजार मिटर दौड, अपर्णा लामाले हाई जम्प¸ आश्विन खड्काले हाई जम्प¸ वर्षा श्रेष्ठले कराँते ५० केजी¸ निकिता कार्कीले तेक्वान्दो ४९ केजी¸ बिराज तामाङले तेक्वान्दो ५५ केजी तौल समूहमा रामेछापलाई कांस्य पदक दिलाउनुभएको छ ।

सञ्जय किङरिङ¸ सन्देश मगर¸ रोशन मगर¸ पवन किङरिङ मगर¸ अग्नि अस्थानी मगर¸ सुदिप माझी¸ करुण भण्डारी¸ निशल श्रेष्ठ र आर्यन श्रेष्ठको टोलीले पुरुष कबड्डीमा रामेछापलाई कांस्य पदक दिलाएको छ ।

प्रतियोगितामा रामेछापबाट छात्रछात्रा गरी ९४ जना खेलाडीले सहभागी थिए । कूल ६६ स्वर्ण¸ ६६ रजत र ६६ कस्य पदका लागि प्रतिस्पर्धा भएको थियो । विजेता खेलाडीलाई मंगलबार नै नगद सहित सम्मान गरिएको छ ।