जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार १०:५०

संसदमा बोल्न पाऊँ, भिजिट भिसाबारे उठेका सबै प्रश्नको जवाफ दिन्छु : गृहमन्त्री


काठमाडौं, जेठ २१ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने प्रष्ट पार्नुभएको छ ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । समितिमा जवाफ दिँदै गृहमन्त्री लेखकले सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गर्नुभयो ।

‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरु, कर्मचारीहरु र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो । यो जिज्ञासा यो समितिका मात्रै साथीहरुलाई मात्रै भएको भए जवाफ दिएर जान्थेँ । यो अरु साथीहरुलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु,’ गृहमन्त्री लेखकले भन्नुभयो ।