जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार १५:४७

समृद्ध भक्तपुर निर्माणको लक्ष्य पूरा गर्न नेकपा उम्मेद्वार डिपी ढकालले जित्नैपर्ने महेश बस्नेतको निश्कर्ष


भक्तपुर, कात्तिक, २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आगामी मंसिर १४ गते हुन लागेको निर्वाचनमा पार्टीको उम्मेद्वारलाई जिताउने अभियानमा जुटन सवै भक्तपुरबासीलाई अफिल गर्नुभएको छ । भक्तपुर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेकपा केन्द्रीय सदस्य बस्नेतले नेकपाको चुनाव चिन्ह सूर्यमय भई भक्तपुर अघि बढेको बताउँदै घाम लागेको सूर्यलाई हत्केला जस्ता पार्टीले छेक्न नसक्ने उदघोष पनि गर्नुभयो ।

भक्तपुर क्षेत्र नं. १ (क) मा नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका देवीप्रसाद ढकाल (डिपी) को निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्ने क्रममा भएको र्यालीलाई सम्बोधन गर्दै नेता बस्नेतले स्व. हरिशरण लामिछानेको सपना साकार पार्ने उम्मेदवार ढकाल मात्रै रहेको ठोकुवा गर्नुभयो । चुनावमा उम्मेद्वार बनेका अन्य दलका प्रतिस्पर्धी ढकालको छेउमा निकै हलुको रहेको बताउँदै उहाँले भक्तपुरको समृद्धिको सहयात्रीको रुपमा ढकाललाई पार्टीले उम्मेदवार बनाएको प्रष्ट पार्नुभयो ।

नेकपाका उम्मेद्वार ढकालले विश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्रको वारेमा स्वलम्बन अर्थतन्त्र विकासको निम्ती अर्थशास्त्रीय बिश्लेषणसहितको पुस्तक समेत लेखिसक्नु भएको जानकारी गराउँदै बस्नेतले ढकाल भक्तपुरको लागि नेकपाको उम्मेदवार मात्र नभई बौद्धिक व्यक्तित्वसमेत रहेको जानकारी दिनुभयो । अव भक्तपुरका लागि विरोध गर्ने नभई विकास गर्ने जनप्रतिनिधि आवश्यक रहेको उल्लेख गर्दै सांसद बस्नेतले पछिल्लो सिटमा वसेर विरोध गर्ने पार्टीलाई मतदान गरेर आफ्नो प्रगतिको बाधक आफै बन्ने गल्ती कसैले पनि गर्न नहुने बताउनु भयो ।

‘नेकपा विकास र समृद्धिको सहयात्री हो । अरुले वीस वर्षमा गरेको विकास नेकपाको नेतृत्वले दुई वर्षमा गरेको छ । यो बोलेको मात्र हैन, जनताले भक्तपुरमा प्रत्यक्ष रुपमा देख्नुभएको छ, भोग्नुभएको छ, ढकालले यसैका एक सहयात्री हुनुहुन्छ,’ बस्नेतको भनाई थियो । पछिल्लो समय केही मिडियाहरुमा भक्तपुरमा नेकपाको तिव्र विवाद भन्ने समाचार प्रकाशन गरी जनतामा भ्रम झर्ने प्रयास भइरहेको बताउँदै उक्त भ्रमलाई चिर्ने अभियानमा सवै लागेको जनाउ पनि बस्नेतले दिनुभयो ।

‘भक्तपुरमा बिवाद भन्ने भ्रमलाई आजको र्यालीले नै अन्त्य गरिदिएको छ, झुटको खेती लामो समयसम्म टिक्दैन,’ बस्नेतले भन्नुभयो । विभिन्न पार्टीले भ्रमको खेती गर्ने भएकाले त्यसको वारेमा सचेत भई व्यापक मात्रामा भ्रमको विरुद्धमा जनचेता अभिवृद्धि गर्न पनि बस्नेतले सुझाउनु भयो ।