भक्तपुर, कात्तिक २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्षमा प्रस्तावित नेता बामदेब गौतमले प्रमुख नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विकास र समृद्धिको बाधक रहेको ठोकुवा गर्नुभएको छ ।
भक्तपुर क्षेत्र नं. १ (क) को उम्मेदवारी दर्ता र्र्यालीमा सहभागी हुँदै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका नेता गौतमले कांग्रेसको आत्मामा देशको विकास र समृद्धि गर्ने रचनात्मक कार्य नभएको बताउनु भयो । गौतमका अनुसार कांग्रैस विरोधको मात्र सपना बोकी हिडेको छ । वर्तमान समय रचनात्मक कार्य गरी जनताको तिव्र विकासप्रतिको चाहना र इच्छा पुरा गर्ने समय भएको उल्लेख गर्दै गौतमले नेकपाका उम्मेद्वारलाई सूर्य चिन्हमा मतदान गर्न अपिल गर्नुभयो ।
‘बादरले आफ्नो घर पनि बनाउँदैन, अरुलाई बनाउन पनि दिँदैन । जति विरोध गरे पनि देशको विकासको लागि जनताको जनमतलाई कदर गर्दै नेकपा नेतृत्वको सरकार अगाडि बढ्छ, विरोधले छेक्दैन,’ गौतमले भन्नुभयो । वर्तमान नेकपा नेतृत्वको सरकार समृद्धिको बाटोमा अघि बढिसकेको बताउँदै उहाँले आगामी तीन वर्ष भित्रमा प्रतिव्यक्ति आय पाँच अमेरिकन डलर हजार पुर्याउने योजना पनि सुनाउनु भयो । ‘उत्पादन वृद्धि, पूर्वाधार विकाससँगै आय वृद्धिदरको आधार हो । सरकारको लक्ष्य सोही अनुसार अघि बढेको छ । हामी बोलीले हैन, कामले नेपाली जनतालाई धनी बनाएर देखाउने छौं । टाढा जानै पर्दैन भक्तपुरका गल्ली गल्ली हेरे हुन्छ । विकासको गति जनताले मापन गरिरहनुभएको छ । त्यसैले आगामी प्रदेशको निर्वाचनमा नेकपाले अघि सारेको उम्मेदवारलाई अत्याघिक मतका साथ विजयी गराउनुस,’ गौतमको भनाई थियो ।
नेकपाका जनप्रतिनिधि विकास र समृद्धिका नेतृत्वकर्ता रहेको उल्लेख गर्दै गौतमले भ्रष्टाचार, अनियमितता, हिंसाको अन्त्य गराउने जिम्मा नेकपाको भएको बताउनु भयो । उहाँले सवै प्रकारका विकृति तथा विसंगतिलाई अन्त्य गर्दै समृद्धिको ढोका खोल्ने कार्य नेकपाले मात्र गर्न सक्ने स्पष्ट पार्नुभयो । ‘नेकपाको सूर्य चिन्ह अघि बढ्यो, अब कसैले रोकेर रोकिन्न,’ गौतमको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्