काठमाडौं, जेठ २८ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल नेपालीका लागि गौरव र महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति भएको बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनी अवलोकनपछि उहाँले नेपालका अमूल्य निधिकारुपमा रहेका हिमाललगायतका प्राकृतिक र सांस्कृतिक धरोहरको महत्वबारे युवा पुस्तालाई बुझाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
‘राससले नयाँ ढङ्गले हिमाल र पहाडका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यस्थल चिनारी गराउन तस्बिर प्रदर्शनी गरेको छ, यो रचनात्मक र राष्ट्रहितका कार्य हुन भन्ने ठान्छु,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलसँगै रहनुभएका एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हिमालसहित बहुविधामा आधारित तस्बिर प्रदर्शनी आफैँमा सकारात्मक र रचनात्मक भएको प्रतिक्रिया दिनुभयो । हिमाल केन्द्रित प्रदर्शनी सूचना प्राप्ति र ज्ञान वृद्धिका हिसाबले महत्त्वपूर्ण रहेकाले युवा पुस्तालाई आफू, आफना पुस्ता, संस्कृति, गाउँ र देश चिनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
‘हामी कुन ठाउँबाट सङ्घर्ष गर्दै यो ठाउँमा आइपुगेका हौँ, हाम्रा सम्पदा, संस्कृति र भूगोल के हुन् रु भन्ने युवा पुस्तामा बुझ्ने तदारुकता कमजोर देखेको छु, उनीहरुका लागि यो प्रदर्शनी ज्ञान आर्जन गर्ने थलो हुन सक्छ,’ प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो । आफ्नो राष्ट्रलाई बलियो र समृद्ध बनाएमा विदेशमा रहँदा बेग्लै सम्मान पाइने हेक्का राख्न युवा वर्गलाई उहाँले सुझाव दिनुभयो ।
यसैबीच बुधवार नै प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत, प्रेस चौतारी नेपालका उपाध्यक्ष चेतन अधिकारीसहितका पदाधिकारीहरुले तस्बिर प्रदर्शनीको अवलोकन गर्दै पर्वतीय पर्यटनबारे जान्न र प्रचारप्रसारमा टेवा पुर्याउने उल्लेख गर्नुभयो । उहाँहरुले यस्ता प्रदर्शनीमा राखिएका तस्बिरबाट जलवायु सङ्कट अघिपछि पर्वतीय शृङ्खलाहरुको अवस्थाको अभिलेखीकरण हुने बताउनुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उहाँहरुलाई स्वागत गर्नुभएको थियो । यही जेठ ११ गतेदेखि आयोजित प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर समावेश गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्