जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार १७:०५

डिल्लीबजार कारागार पुगेर नेकपाका नेता देव गुरुङले भेटे निवर्तमान सभामुख महरा, दिए यी दुई सुझाव


काठमाडौं, कात्तिक २१ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरूङले डिल्लीबजार कारागार पुगेर निवर्तमान सभामुख कृष्णबहादुर महरासँग भेट गर्नुभएको छ ।

संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई जवरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि कारागार पठाइएका निवर्तमान सभामुख महरा आज दिउसो प्रमुख सचेतक गुरूङले भेटनुभएको हो । नेता गुरुङले महरालाई भेट गरी केही सुझाव दिएको बताउनु भयो । महरासँगको भेटमा मुख्यगरी दुई विषयमा कुराकानी भएको उहाँको भनाई छ । भेटमा गुरुङले कानुनी पाटोसहित स्वास्थ्यमा ध्यान दिन सुझाउनु भएको थियो ।

गुरुङका अनुसार महराको स्वास्थ्य अवस्था र कानूनी बिषयमा कुराकानी भएको थियो । ‘उहाँलाई सञ्चो थिएन। बिरामी नै हुनुहुन्थ्यो, स्वास्थ्य अवस्थाबारे जानकारी लिएँ, यस्तै उहाँले कानुनी परामर्श खोजिराख्नुभाको थियो, त्यसबारे पनि कुराकानी भयो,’ भेटबारे गुरुङले भन्नुभयो ।
नेता गुरुङका अनुसार कारागारमा रहेका महराको आज पनि स्वास्थ्य अवस्थाको परीक्षण भइरहेको थियो । जिल्ला अदालत काठमाडौंले महरालाई केही दिनअघि जवरजस्तीकरणी पुर्पक्षका लागि कारागार पठाउने आदेशपछि डिल्लीबजार कारागार चलान गरिएको हो ।