जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १५:०४

मादीसेतीमा जलविहार शुरु


दमौली, कात्तिक २२

चिसो मौसम शुरु भएसँगै मादीसेती नदीमा जलविहार शुरु गरिएको छ । कात्तिक महिना शुरु भएपछि जलविहारका लागि मादीसेती नदीमा विदेशी पर्यटकको आकर्षण बढेको हो । मादीसेतीमा जलविहार गर्न दैनिक २५–३० विदेशी पर्यटक आउने गरेका व्यवसायी बताउँछन् । नेपालका अन्य नदीभन्दा मादीसेती नदीको यात्रा सुरक्षित रहेकाले यहाँ जलबिहार गर्न पर्यटक आकर्षित हुने गरेका व्यवसायीको भनाइ छ ।

मादीसेती चिसो मौसममा पनि न्यानो हुने भएकाले यहाँ पर्यटक जलविहार गर्न रुचाउने गरेको यति होलिडेजका वरिष्ठ जलविहार प्रशिक्षक रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भोटेकोशी, त्रिशूली, कालीगण्डकीलगायतका नदी चिसो र ‘हाइ¥यापिड’ नदी भए पनि मादीसेती ‘जिरो थर्मल’ नदी भएकाले यहाँ जलविहार सुरक्षित मानिने गरेको छ । दमौलीस्थित मादी नदीको पुल र व्यास गुफा क्षेत्रबाट जलविहार हुने गरेको छ ।

यहाँबाट शुरु हुने जलविहार चितवनको गाईघाट पुगेर टुङ्गिन्छ । श्रेष्ठका अनुसार दमौलीबाट गाईघाटसम्म २२ माइल दूरी छ । दमौलीबाट शुरु हुने जलविहारको पहिलो दिन पर्यटकले आँबुखैरेनी गाउँपालिकास्थित धरमपानीको ढावमा रात बिताउँछन् । दोस्रो दिन त्यस ठाउँको भ्रमण गरेर तेस्रो दिन गाईघाट पुगेर जलविहारको यात्रा टुङ्गिन्छ । जलविहारका क्रममा यस ठाउँमा देखिने दृश्यले गर्दा पर्यटक मोहित हुने गरेका श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरियाली डाँडाकाँडा, मनोरम दृश्य अनि चराचुरुङ्गीको आवाज जलविहारमा देख्न र सुन्न पाइन्छ, जसले पर्यटक आकर्षित हुने गरेका छन् ।” यति होलिडेजका प्रशिक्षक हरि श्रेष्ठले एकपटक मादीसेतीमा जलविहार गरेका पर्यटक दोहो¥याएर आउने गरेका जानकारी दिनुभयो । “मादीसेती जलविहारका लागि सुरक्षित छ, जसका कारण पर्यटक मादीसेतीमा जलविहार गर्न रुचाउने गरेका छन्”, श्रेष्ठले भन्नुभयो ।

मादीसेतीमा पानीको वहाब राम्रो भएको, मनोरम प्राकृतिक दृश्यावलोकन गर्न पाइने भएका कारण जलविहारका लागि उपयुक्तसँगै आनन्द हुने पर्यटकको भनाइ छ । दमौलीदेखि चितवनको घुमाउनेघाटसम्मको जलयात्रा रोमाञ्चक हुने भएका कारण पोखरा घुम्न आउने अधिकांश पर्यटक मादीसेतीमा जलविहार गर्न रुचाउने तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङले बताउनुभयो । सो नदीमा बाह्रै महिना जलविहार गर्न सकिने भएकाले यसतर्फ ध्यानदिनुपर्ने उहाँको सुझाव छ ।