जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार २०:०६

बिद्या भट्टराई जिताउन अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले दिए नेकपाका नेता–कार्यकर्तालाई यस्तो निर्देशन


कास्की, कात्तिक २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले उपनिर्वाचनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउने बिश्वास ब्यक्त गर्नुभएको छ । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको सन्दर्भमा उम्मेद्वारी मनोनयनको भोलिपल्ट आज नेकपा कास्कीले पोखरामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले सो बिश्वास ब्यक्त गर्नुभएको हो ।

सो अवसरमा अध्यक्ष दाहालले छिन्न भिन्न अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई दुई पार्टी एकताले नयाँ सन्देश दिएको मात्र नभइ देशलाई समुन्नतितर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । पार्टी एकिकरणका क्रममा बाँकी रहेका केही कामलाई यही कात्तिक २४ गते भित्र टुङ्ग्याइने गरी लागि परेको जानकारी पनि अध्यक्ष प्रचण्डले दिनुभयो । वर्तमान सरकारले देशलाई समृद्धिको बाटोमा गतिशिल ढङ्गले अगाडि बढाइरहेको भन्दै अध्यक्ष प्रचण्डले केरुङ काठमाडौ, पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्गको विस्तृत अध्ययन भएको र यसलाई सफल बनाएर छाड्ने बताउनुभयो ।

पर्यटकीय शहर पोखराको निम्ति यहाँका सम्पूर्ण तालको संरक्षण र सम्वद्र्धनमा विशेष कार्यक्रम आउने तरखरमा रहेको र चक्रपथको आवश्यकतालाई साकार रुप दिने अध्यक्ष दाहालले बताउनुभयो । अध्यक्ष प्रचण्डले आगामी उपनिर्वाचनमा कास्की २ बाट नेकपाकी उम्मेद्वार बिद्या भट्टराईलाई भारती मतले जिताउनका लागि आवश्यक सवै तयारी गर्न निर्देशन भयो ।

प्रशिक्षण कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले लोकप्रिय नेता रवीन्द्र अधिकारीको गृह जिल्ला फेरि उदाहरणीय बन्नुपर्ने भन्दै सोको लागि विद्या भट्टराईलाई निर्विकल्प उम्मेद्वारको रुपमा पार्टीले अघि सारेको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा र सचिव बखानसिंह तमुलगायतले बोल्नुभएको थियो ।