जनता टाइम्स

२३ कार्तिक २०७६, शनिबार ०८:५२

लुडो खेलको बिवादले गयो एक युवाको ज्यान


सर्लाही, कात्तिक २३ । लुडो खेलमा भएको बिवादले सर्लाहीमा एक जनाको ज्यान गएको छ । भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा लुडो खेलको बिवादमा रड प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

लुडो खेल्ने विषयमा विवाद भई रड हानाहान हुँदा विष्णु गाउँपालिका–२, पकडीगोठका ३० वर्षीय बीकाउ साहको मृत्यु भएको सर्लाही प्रहरीका प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । रड प्रहारबाट गम्भीर घाईते भएका साहको उपचारका क्रममा शुक्रबार साँझ वीरगञ्जमा मृत्यु भएको हो । बिहीबार राती लुडो खेल्दै गर्दा विवाद भएपछि बीकाउ र सोही ठाउँका सन्तोष झाबीच रड हानाहान भएको थियो ।

घटनामा सामान्य घाईते भएका वर्ष ३० कै सन्तोष झाको जिल्ला अस्पताल मलङ्गवामा प्रहरी निगरानीमा उपचार भइरहेको एसपी भट्टराईले बताउनुभयो । उहाँले लुडो खेल्ने क्रममै विवाद भएको जानकारी आए पनि विवादको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताउनुभयो ।

मृतकका परिवारले सन्तोष र उनका परिवारका अन्य सदस्य समेत मिलेर बीकाउमाथि रड प्रहार गरेको बताएका छन् । प्रहरी पठाएर पीडितले नाम लिएका व्यक्तिको खोजी गर्दा उनीहरु घर छाडेर फरार भएका पाइएको एसपी भट्टराईले बताउनुभयो ।