जनता टाइम्स

२३ कार्तिक २०७६, शनिबार १०:०३

भारतले एकाएक बन्द गरिदियो सीमा नाका


काठमाडौं, कात्तिक २३

भारतले नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेपछि भारतविरोध प्रदर्शन चर्किरहेका बेला नेपालगञ्जस्थित सीमा नाका बन्द गरेको छ । एकाएक नाका बन्द गरेपछि आवातजावत गर्ने यात्रुहरु मर्कामा परेका छन् ।

अन्तराष्ट्रिय नाका बन्द गर्नुपर्ने औपचारिक जानकारी समेत भारतले नेपाललाई दिएको छैन । तर, स्रोतका अनुसार अयोध्या मामिलामा आज भारतीय सुप्रिम कोर्टले आज फैसला सुनाउने भएपछि सम्भावित हिंसालाई मध्यनजर राख्दै बन्द गरिएको हुने सक्ने बताइएको छ ।

भारतले नाका शिल गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेकोबारेमा औपचारिक जानकारी नआएको बताउनु भयो । भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका शिल गर्नु परेको जनाएको छ ।

बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरूले बिहान मात्रै नाका शिल गरेको बारेमा जानकारी दिएको बताउनु भयो । भारतीय प्रहरीले शनिबार विहानैदेखि नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन् । नेपालगञ्ज नाकाबाट भारतीय अस्पतालमा उपचार गर्न ठूलो संख्याका बिरामी जाने भएकाले भारतीय प्रहरीले एम्बुलेन्सलाई छुट दिएको छ । भारतबाट नेपालतर्फ भने आउन दिइएको छ ।

अर्धसैनिक बलका झण्डै ४० हजार जवान राज्यभर तैनाथ भएका भारतीय संचार माध्यमले जनाएका छन् । फैसलालाई लिएर सामाजिक सञ्जालमा पनि निगरानी कडा पारिएको छ । हिजोदेखि नै राम जन्मभूमि तर्फ जाने सबै सडकमा पैदल यात्रुलाई मात्रै हिँड्न दिइएको छ । राम मन्दिर–बाबरी मस्जिद विवादबारे भारतको सर्वोच्च अदालतले ४० दिन लामो सुनुवाई गएको अक्टोबर १६ अर्थात असोज १९ गते पूरा गरेको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश रञ्जन गोगोईले आउँदो मंसिर १ गते अवकास पाउने भएकाले त्यो भन्दा अगाडि नै सर्वोच्चले फैसला सुनाउने अपेक्षा गरिए अनुसार आज फैसला सुनाइन लागेको हो । राम मन्दिर–बाबरी मस्जिद सम्बन्धी फैसला ऐतिहासिक हुनेछ ।

राजनीतिक रुपले अति संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर विवाद रहँदै आएको छ । हिन्दू र मुस्लिम सम्प्रदायबीच अयोध्यामा रहेको यो भूमिलाई लिएर लामो समयदेखि विवाद छ । हिन्दूले विवादास्पद भूमि राम जन्मभूमि भएको दाबी गर्दै आएका छन् भने मुस्लिमले बाबरी मस्जिदको भूमि भएको अडान राख्दै आएका छन् ।