जनता टाइम्स

२४ कार्तिक २०७६, आईतवार १४:०७

चुरे क्षेत्रको वन–जङ्गलमा पछिल्लो समय काठ तस्करी बढ्दो


निजगढ, कात्तिक २४

चुरे क्षेत्रको वन–जङ्गलमा पछिल्लो समय काठ तस्करी बढेको छ । तस्करले साल, खयर, साज कर्मालगायत जातका रुख कटान गर्न थालेका छन् । चुरेमा पर्ने परवानीपुर, सिगौल, भमरालगायत क्षेत्रको चुरेमा काठ तस्करी बढेको छ । दैनिक काठ तस्करी हुन थालेपछि जिल्ला वन कार्यालयलाई नियन्त्रण गर्न समस्या भएको छ ।

केही दिनअघि तस्करले बिक्रीका लागि लुकाएर राखेको सालको काठ डिभिजन वन कार्यालयले बरामद गरेको थियो । निजगढस्थित सेक्टर वन कार्यालयले पसाहा खोला, रतनपुर, सिगौललगायत क्षेत्रबाट ठूलो परिमाणमा काठ बरामद गरेको डिभिजन वन कार्यालय बाराका प्रमुख महमद मन्सुरले जानकारी दिनुभयो ।

तस्करले काठ माटो, बालुवा तथा स्याउलाले छोपेर राख्ने गरेका छन् । उनीहरुले सालको एउटा कडी रु तीन हजारभन्दा बढीमा बिक्री गर्ने गरेका छन् । निजगढ नगरपालिका– १, २ र ३ अन्तर्गत पर्ने सिगौल–फापरबारी सडकखण्डमा साल तथा साजका रुख काटिएका छन् । तस्करले काठ ट्र्याक्टरमा ढुवानी गर्ने गरेका छन् । उनीहरुले दिउँसै रुख काटेर तस्करी गर्ने गरेका छन् ।