जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार १०:३८

अगाडी बढ्यो प्रधानमन्त्री ओलीको अर्को सपना : दैलेखमा पेट्रोलियम अन्वेषणको काम शुरु


दैलेख, कात्तिक २५

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा लिएको महत्वकाक्षी योजनाले सार्थकता पाउने देखिएको छ । नेपालका पहाडी जिल्लामा पेट्रोलियम पदार्थ रहेको तथ्य पत्ता लागेपनि त्यो खोजी गर्न कसैले चासो दिएका थिएनन् । तर, प्रधानमन्त्री ओलीको अग्रसरतामा यो काम अहिले धामधम अगाडी बढिरहेको छ ।

दैलेखका विभिन्न स्थानहरूमा चिनियाँ विशेषज्ञ टोली र नेपाल सरकारको खानी तथा भूगर्भ विभागको टोलीले अहिले पेट्रोलियम अन्वेषणको कामलाई तीव्र बनाएको छ। नाबिस्थान, शिरस्थान, पादुकालगायतका स्थानमा चाइना जिओलोजिकल सर्भे र नेपालको खानी तथा भूगर्भ विभागको टोलीले पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रता रुपमा अघि बढाएको विभागका अन्वेषण अधिकृत गुणराज त्रिपाठीले जानकारी दिनुभयो ।

अन्वेषणका लागि आवश्यक सामान राख्ने, चीनको अन्वेषण टोली र कामदार बस्ने क्याम्प डुगेश्वर गाउँपालिका–१ को कुप्रा बजार नजिक निर्माण गरिएको छ । अन्वेषण अधिकृत त्रिपाठीका अनुसार भू–सतहभित्र पेट्रोलियम पदार्थ भएकाले अहिले साइस्किम सर्वेको काम अघि बढाइएको र अन्य तीनवटा सर्वेका काम पनि एकैसाथ अगाडि बढाइएको छ । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जिओलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोड रुपैयाँको सम्झौता भएको छ ।

चीनको बिज्ञ टोलीले पहिलो चरण (१० महिना)मा तानसेन तथा दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रेलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने छ । योजनाअनुसार दोश्रो चरण (११ देखि २८ महिना) मा दैलेख क्षेत्रमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । तेश्रो चरणमा (२९ देखि ३६ महिना) मा नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थावारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुनेछ ।