जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार ११:५४

अवैध रकम लिने मेडिकल कलेजविरुद्ध एक्सनमा उत्रियो सरकार : ठगी मुद्दा चलाउने


काठमाडौं, कात्तिक २५

सरकारले तोकेभन्दा बढि शुल्क विद्यार्थीबाट उठाउने मेडिकल कलेजविरुद्ध सरकार एक्सनमा उत्रिएको छ । अवैध रुपमा उठाएको रकम १५ दिनभित्र फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम दिइएको जानकारी दिनुभयो । ‘१५ दिनभित्र विद्यार्थीका गुनासा समाधान नगरे ठगी मुद्दा चलाउँछौं,’ मन्त्री पोखरेलले भन्नुभयो ।

शिक्षा मन्त्री पोखरेलका अनुसार सोमबार गृह मन्त्रालयलाई यसबारे पत्राचार पनि गरिएको छ । चितवन मेडिकल कलेजले विद्यार्थीबाट उठाएको अवैध शुल्क कात्तिक १८ गतेभित्र फिर्ता वा समायोजन गर्ने बताए पनि कार्यान्वयनमा भने ल्याएको छैन । गण्डकी मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजलगायतबाट पनि सञ्चालकले अवैध शुल्क लिएपछि विद्यार्थीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

मन्त्री पोखरेलले विद्यार्थी र अभिभावकले प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने पनि बताउनु भयो । ‘हामी शुल्क फिर्ताका लागि कडाइसाथ लागेका छौं,’ उनले भन्नुभयो,‘विद्यार्थी र अभिभावकले पनि सहयोग गर्नुपर्छ।’