जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार १३:०९

नेकपाको सचिवालय बैठक : मिडियालाई चाहिएको यो एजेण्डामा भएन कुनै छलफल


काठमाडौं, कात्तिक २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषदका सदस्य हेरफेरको बिषय उठानसमेत भएन । अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच आइतवार भएको बैठकलाई लिएर सवैजसो मुलधार र अनलाइन मिडियाले दुई अध्यक्षबीच मन्त्री फेर्ने छलफल भएको र आजको सचिवालय बैठकले निर्णय लिने फेक समाचार प्रकाशित भएको थियो ।

यतिसम्म कि प्रधानमन्त्री ओलीले सवै मन्त्री एकसाथ फेर्ने प्रस्ताव गर्नुभएको भन्नेसम्मको समाचार प्रवाह भयो । प्रधानमन्त्री ओलीले आफ्नो सचिवालय र सल्लाहकार समुहमा नियुक्त सवैलाई एकसाथ राजीनामा दिन निर्देशन दिनुभएपछि अव मन्त्रि पनि फेरिने भन्दै हल्ला चलाइएको हो । सोही आधारमा बालुवाटार र खुमलटारको हवाला दिँदै आजको बैठकले मन्त्री हेरफेरको निर्णय लिने भन्दै समाचार लेखाइएको हो ।

‘मिडियाले मन्त्री हेरफेर गर्ने हाम्रो बैठकको जुन एजेण्डा बनाएको थियो,त्यस बिषयमा छलफल त के प्रसंग पनि उठेन, बैठक पार्टी एकतामै केन्द्रित रह्यो,’ बैठकपछि एक नेताले जनताटाइम्ससँग भने, ‘फेक समाचार प्रवाह गरिएको थियो, त्यो फेक नै हो भनेर सचिवालय बैठकबाट पुष्टि भयो । ती नेताका अनुसार अध्यक्षद्वयबीच आइतवारको बैठकमा पनि मिडियाले एजेण्डा बनाएको बिषयमा कुराकानी नै भएको थिएन ।

पछिल्लो समय बिचौलियाको काम रोकेपछि कर्मचारी प्रशासनलाई प्रभावित पार्दै मन्त्रीको योजना कार्यान्वयनमा अवरोध गर्न बालुवाटार र खुमलटारको हवाला दिँदै मन्त्री फेर्ने काम मिडियामार्फत गरिदै आएको छ । बिचौलियाले गोप्य स्रोत भन्दै लामो समयदेखि निरन्तर मिडियालाई दुरुपयोग गरिरहेका हुन । अहिलेसहित मन्त्री फेर्ने हल्ला चलाइएको सातौं पटक हो ।