जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार १३:४९

प्रदेश नं ५ मा घरदैलो सुत्केरी सेवा दिइने


बेझाड, कात्तिक २५

प्रदेश नं ५ मै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सफल पाल्पाको पूर्वखोला गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने भएको छ । पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका बखत हुन सक्ने विविध समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने निर्णय गरेको हो ।

सुत्केरी भएको तीन तथा सात दिनको समयमा घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि रु दुई लाख विनियोजन गरेको छ ।

दूरीको हिसाबले रु दुई सयदेखि रु पाँच सयसम्म यातायात खर्च नर्सलाई दिने र सुुत्केरी अवलोकन गरी फाराम भरेर रिपोर्ट गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयमा बुझाउनुपर्ने गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताउनुभयो । सुत्केरीले स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गरेमा एक क्यारेट अण्डा उपलब्ध गाराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई कात्तिक ७ गते प्रदेश नं ५ मै ‘पूर्ण संस्थागत सुत्केरी गाउँपालिका’ घोषणा गरिएको थियो ।