जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार १६:०२

नेकपा प्रवक्ता श्रेष्ठले बनाइदिए पत्रकारलाई नै लज्जित


काठमाडौं, कात्तिक २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो प्रश्न्प्रति पत्रकारलाई नै लज्जित बनाइ दिनुभएको छ । सचिवालय बैठकको निर्णयबारे जानकारी दिन पत्रकारमाझ आउनुभएका प्रवक्ता श्रेष्ठले मन्त्री फेर्ने बिषयमा के भयो भन्दै प्रश्न गरेपछि त्यो त तपाईहरुको काम हो, सचिवालय बैठकमा प्रवेश नै पाएन, प्रधानमन्त्रीको कुरा हो भन्दै जवाफ दिएपछि प्रश्न्कर्ताहरु नै लज्जित हुनुपरेको हो ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टी एकताको बिषयमा आइतवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच भएको छलफललाई बंग्याएरु आजै सवै मन्त्री फेर्ने भन्दै समाचार दिइएको थियो । तर आजको बैठकमा त्यो समाचार झुटो थियो भन्ने प्रमाणसहित प्रवक्ता श्रेष्ठले जवाफ दिनुभएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डलका सदस्य तथा आफ्ना सचिवालयमा कार्यरत विज्ञ सल्लाहकारको पुनरगठन गर्ने विषयमा बैठकले केही निर्णय गर्यो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘यस विषयले बैठकमा प्रवेश नै पाएको छैन, यो प्रधानमन्त्रीको आफ्ना कुरा हुन ।’

प्रवक्ता श्रेष्ठका अनुसार बैठकले नेपाल–भारत सीमाका विषयलाई गम्भीरतापूर्वक लिएको छ । ‘सीमाका विषयमा नेपाल सरकारले स्पष्ट गरिसकेको छ, यस विषयमा नेपालको नयाँदिल्लीस्थित राजदूतावासमार्फत भारतीय सरकारको ध्यानाकर्षणसमेत गराइसकिएको छ,’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकपछि सञ्चारकर्मीका जिज्ञासामा उहाँले नेकपाले नेपाल–भारत सीमा विषयलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो । परराष्ट्र मन्त्रालयले यही कात्तिक २० गते विज्ञप्ति प्रकाशित गर्दै कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारेको थियो ।