जनता टाइम्स

२६ कार्तिक २०७६, मंगलवार १०:२६

रिहा लगत्तै पक्राउ परेका हाइप्रोफाइल जुवाडे सम्पत्ति शुद्धिकरण विभागमा


काठमाण्डौ, कात्तिक २५

महाराजगञ्जमा जुवाको खालबाट पक्राउ परेका २५ जनाको सम्पत्ति छानविन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा धरौटीमा रिहा गर्नासाथ सोमबार उनिहरु फेरि पक्राउ परेका थिए ।

गएको कात्तिक १० गते महाराजगञ्जमा जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाउने महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी उमेश लम्सालले जानकारी दिनुभयो । जुवा खेलेको अभियोगमा दायर भएको मुद्दामा जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गर्नासाथ सोमबार फेरि पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाउन लागिएको हो ।

क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटासहित सुमन अग्रवाल, पवन अग्रवाल, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, रञ्जन राजवंशी, सोदेल कार्की, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, अशोक श्रेष्ठ, प्रेम थापामगर, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको थियो ।