जनता टाइम्स

२६ कार्तिक २०७६, मंगलवार १२:४०

रौतहट बमकाण्डमा नयाँ खुलासा : आलमका व्यक्तिले मार्ने धम्कीले बयान फेरेको चमारको भनाई (भिडियोसहित)


रौतहट, कात्तिक २६

रौतहट बम काण्डका आरोपी मोहम्मद अफ्ताब आलम पक्षले मार्ने धम्की दिएर उजुरीकर्तालाई अदालतमा निवेदन दिन लगाएको खुलासा भएको छ । बम बिष्फोटमा परी घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारले सोमबार अदालतमा स्टोभ विस्फोटबाट घाइते भएको निवेदन अदालतमा दिएका थिए ।

शुरुमा प्रहरीमा निवेदन दिनेले नै अन्तिम समयमा बयान फेरेपछि प्रहरीलाई शंका लागेर उनलाई नियन्त्रणमा लिएको थियो । आज विहान केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै चमारले अलाम पक्षका चारपाँच जनाको समुहमा आएका व्यक्तिले अपहरण गरी बयान फेर्न लगाएको खुलासा गरेका हुन् ।

आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेकै बेला सोमबार अपरान्ह अदालत प्रवेश गर्दै सरकारी साक्षीकारुपमा राखिएका भारत सितामढीका गौरीशंकर राम चमारले आफूलाई प्रहरीले पक्राउ गरी जबरजस्ती गलत बयान गर्न लगाएको भन्दै निवेदन दिन दिएका थिए ।

४ दिनअगाडि भारत सीतामढीकै मुसाचौकस्थित आफ्नो घरमा बसिरहेको बेला ४–५ जना मानिस जीप लिएर आइ केही काम छ भनी अपहरण गरी आलमका सम्धी शिवहर विधानसभा क्षेत्रका विधायक सरफुद्दिन सेखको घरमा बन्धक बनाइ राखेको बताए ।

त्यसपछि आइतबार मात्रै चमारलाई भारतको सीमावर्ती बजार बैरगनियाको पटेल चोकमा छोडिएको थियो । त्यहाँ पहिलेदेखिनै दुईवटा मोटरसाइकल लिएर पर्खिरहेका तरुणदल रौतहटका अध्यक्ष सेख नौसादसहित तीनजनाले चमारलाई गौरस्थित अभियुक्त आलमको घरमा ल्याएका थिए । चमारलाई ज्यान लिनेसम्मको धम्की दिँदै ‘तिमी अदालतमा गएर बम बिस्फोटमा नभइ स्टोभ पड्केर जलेको भनी बयान दिनु’ भनी सिकाएपछि सोमबार जिल्ला अदालत रौतहटको गेटमा छाडेका थिए । तर, प्रहरीले अदालतभित्र जाने अनुमति नभएको भन्दै नियन्त्रणमा लिएको थियो ।

सुन्नुहोस् उनको बयान जस्तो त्यस्तै