जनता टाइम्स

३ श्रावण २०८२, शनिबार ०९:३७

एलिना चौहानले सत्य मेरो साथमा छ, अब म चुप बस्दिन भन्दै आफुमाथि भएको हिसांको फोटो सार्वजनिक गरिन


काठमाडौं, ३ साउन । गायिका एलिना चौहानले आफ्नो व्यक्तिगत जीवनका विषयमा उठेका प्रश्न र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीकाबीच चुप नबस्ने घोषणा गर्नूभएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै उहाँले विगतमा आपसी समझदारीमा टुंगिएको विषयलाई समाज र सामाजिक सञ्जालको दबाबका कारण फेरि दोहोर्‍याएर आफ्नो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय भएको बताउनुभएको छ । एलिनाले भन्नुभएको छ– “म कानुनी प्रक्रियामा जान बाध्य भएँ। म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ। मैले मेरो विगत खोल्नुपर्‍यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।”

उहाँले यस मुद्दामा कसैसँग व्यक्तिगत दुश्मनी नरहेको तर सत्य बोल्ने नारीलाई दोषी बनाउने र पीडितलाई कठघरामा उभ्याउने मानसिकतासँग लडिरहेको स्पष्ट पार्नभयो । “जब मैले आफ्ना भोगाइहरू सुनाएँ, म माथि फेरि प्रश्न उठाइए—किन अहिले ? किन फेरि ? तर मलाई थाहा छ, यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ। यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।” उहाँले भन्नुभएको छ ।

एलिनाले अब चुप नबस्ने भन्दै आफ्नो न्यायको लडाइँ हरेक नेपाली चेलीको आवाज भएको बताउनुभएको छ । “अब यो केवल मेरो न्यायको लडाइँ होइन, हरेक नेपाली चेलीको आवाज हो। म कानुनी, सामाजिक र नैतिक बाटोबाट न्यायका लागि अगाडि बढ्नेछु। म एक्लो भए पनि, सत्य मेरो साथमा छ।” उहाँले जोड दिनुभयो । पूर्वपति बिष्णु सापकोटाले सामाजिक सञ्जालमा स्टाटस लेखेलगत्तै एलिनाको पनि स्टाटस आएको हो ।