जनता टाइम्स

२७ कार्तिक २०७६, बुधबार १५:५५

विद्यालाई अत्यधिक बहुमतले जिताउनुस् : पूर्व मन्त्री अधिकारी


पोखरा, कात्तिक २७
पूर्व स्वास्थ्यमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी गण्डकी प्रदेशका सह–ईन्चार्ज खगराज अधिकारीले समृद्दिको लागि नेकपा उम्मेद्वार विद्या भट्टराईलाइ अत्यधिक बहुमतले विजयी गराउन अपील गर्नुभएको छ । बुधबार पोखरा–९ स्थित साँघुमुखमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले नेकपा भूमिहिनहरु र आम श्रमजीवीको पार्टी भएको बताउनुभएको छ । नेता अधिकारीले सम्पूर्ण श्रमजीवि र भूमिहिनहरुलाई समेटेर अघि बढ्ने नेकपा बाहेक विकल्प नभएको दावी गर्नुभयो । उहाँले एक वर्षभित्रै सबै भूमिहिनहरुले भूमिको स्वामित्व प्राप्त गर्ने समेत जनाउनुभयो ।
नेकपाको चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम उम्मेदवार सहितको चलिरहेको छ । प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ को नेकपाकी उम्मेद्वार विद्या भट्टराईको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भिमसेनचोक स्थित शहिद भिमसेन दाहालको शालिकमा माल्यार्पण गरी शुरू भएको हो । माल्यार्पणपछि बोल्दै उम्मेदवार भट्टराईले शहीदको सपना साकार पार्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विकासको लहर ल्याउँदै गरिवीको रेखामुनी रहेका नागरिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
महिला र यूवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने उहाँको भनाइ थियो । उहाँले देश र जनताको चाहना अनुसार समृद्धिको सपना पूरा गर्न आँफू उम्मेद्वार बनेर आएको बताउनुभयो । चुनावी घरदैलो अन्तर्गत अहिले पोखराको वडा नं ९ का विभिन्न ठाउँमा अहिले कार्यक्रमहरु भइरहेको प्रचारप्रसार संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो । यसैबीच नेकपाको चुनावी कार्यक्रम अन्तर्गत पोखरा १५ स्थित अमिनतारा टोलमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ । 
कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमु आभासले पनि विद्याको पक्षमा माहौल बन्दै गएको भन्दै जीतको सुनिश्चितता भइसकेपनि भारी मतले विजयी गराउन अनुरोध गर्नुभयो । पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले वडाले टोल–टोलमा गरेका विकाश निर्माण गतिविधिबारे जानकारी गराउनुभएको थियो । टोलमा स्थानीय लक्ष्मी परियारको संयोजकत्वमा ५१ सदस्यीय अमिनतारा टोल निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा वडा कमिटी १५ का अध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिनुभयो ।