जनता टाइम्स

२७ कार्तिक २०७६, बुधबार २१:३१

कास्कीमा मत माग्दै उम्मेदवार जनताको घरदैलोमा, बिद्या भट्टराईप्रति देखियो मतदाताको ठुलै आकर्षण


पोखरा, कात्तिक २७ । कास्कीको निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँँग्रेसले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । दुबै पार्टीका उम्मेदवारहरु यतिबेला मतदाताका घरदैलोमा पुगेर आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् ।

दुवै उम्मेद्वार मतदातामाझ गइरहँदा अधिकांश मतदाता नेकपाकी उम्मेद्वार बिद्या भट्टराई अधिकारीतिर आकर्षित देखिएका छन । यस क्षेत्रका बिकाशप्रेमी लोकप्रिय नेता तात्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको दुखद निघनले शोकमा डुवेका मतदाता उहाँकी पत्नी तथा बिद्यार्थी कालकी चर्चित नेतृ बिद्यालाई उम्मेद्वार पाएपछि खुसी देखिएका छन । निर्वाचन क्षेत्रअन्तर्गतका पोखरा महानगरपालिकाका ११ वटा वडामा निर्वाचन परिचालन कार्यालय तथा कतिपय वडामा आवश्यकताअनुसार शाखा कार्यालय स्थापना गरिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवारसहित पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थितिमा घरदैलो कार्यक्रमलाई अघि बढाएका हुन् ।

प्रत्येक वडा तथा टोलमा प्रचारप्रसारका गतिविधिलाई प्रभावकारी बनाउन, मतदाता शिक्षालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्यका साथ आज पोखरा–१७ मा विभिन्न भेगलाई समेट्ने गरी छुट्टाछुट्टै चारवटा निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको नेकपा–१७ का अध्यक्ष सुवास ढुङ्गानाले जानकारी दिनुभयो । कार्यालयको उदघाटन गर्दै नेकपा कास्कीका अध्यक्ष एवं निर्वाचन कमिटी संयोजक कृष्ण थापाले विकासप्रेमी नेता स्व रवीन्द्र अधिकारीले देख्नुभएका सपना साकार पार्न मतदाताकै चाहनाअनुसार विद्या भट्टराई अधिकारीलाई सर्वसम्मत उम्मेदवार बनाइएको बताउनुभयो । जनप्रतिनिधिहरु जनताका सेवक भएको उल्लेख गर्दै उहाँले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्दै मतदाता माझ पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

वर्तमान पार्टी नेतृत्वको सरकारले निकट भविष्यमा सुकुम्वासी समस्या समाधान गर्ने गरी आवश्यक तयारी गरिरहेको बताउँदै उहाँले अबको तीन वर्ष्भित्र मुलुकमा कोही पनि सुकुम्बासी नहुने जानकारी दिनुभयो । नेकपा पोखरा–१७ का अध्यक्ष एवम् वडा निर्वाचन कमिटी संयोजक सुभाष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य एव्म जिल्ला कमिटी सदस्य राधिका शाही योगी, सुवर्ण श्रेष्ठ र ओमबहादुर हमाल, मजदूर नेता रुद्र खत्री, वडाध्यक्ष तीर्थ अधिकारी, भुवानी भट्टराई, पार्टी वडा सचिव ईश्वरीप्रसाद लम्साललगायतले निर्वाचनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी पूर्वस्वास्थ्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशका सहइन्चार्ज खगराज अधिकारीले नेकपा भूमिहीनहरु र आम श्रमजीवीको पार्टी भएको बताउनु भएको छ । पोखरा महानगरपालिका–९ मा आज भएको उम्मेदवारसहितको घरदैलो कार्यक्रमपश्चात् साँघुको मुखमा आयोजित कोणसभामा बोल्दै उहाँले सम्पूर्ण श्रमजीवी र भूमिहीनहरुलाई समेटेर अघि बढ्ने नेकपाबाहेक विकल्प नभएको दाबी गर्नुभयो । प्रतिनिधिसभाअन्तर्गत कास्की क्षेत्र नं २ का लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराईले चुनावी घरदैलो अभियान बुधबार पोखरा–९ भीमसेनचोकस्थित शहीद भीमसेन दाहालको शालिकमा माल्यार्पण गरी शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा उहाँले शहीदको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गर्दै विकासको लहर ल्याउँदै गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । महिला र युवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने उल्लेख गर्दै उम्मेदवार भट्टराईले देश र जनताको चाहनाअनुसार समृद्धिको सपना पूरा गर्न आफू उम्मेदवार बनेर आएको बताउनुभयो ।

काङ्ग्रेसको घरदैलो भोलिदेखि दोस्रो चरणमा

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले पहिलो चरणको चुनाव प्रचारप्रसार सक्दै भोलिदेखि दोस्रो चरणका कार्यक्रम गर्ने भएको छ । पहिलो चरणअन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको र दोस्रो चरणको घरदैलोलगायतका कार्यक्रम भोलिदेखि थालिने चुनाव प्रचार समितिका मूल समितिका संयोजक एवम् कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीले जानकारी दिनुभयो । दोस्रो चरणको कार्यक्रमअन्तर्गत बाँकी वडामा घरदैलो सक्ने र पुनः दोहोर्याउने उहाँले बताउनुभयो ।

पार्टीले उम्मेदवार खेमराज पौडेलसहित मङ्गलबार र बुधबार दुई दिन पोखरा–१७ मा घरदैलो गरे पनि अझै नसकिएको प्रचारप्रसार समितिले जनाएको छ । भोलिदेखि बिहीबारबाट पोखरा–२० मा घरदैलो गरिने र वडा नं १७ का बाँकी रहेका मतदातालाई पुनः समय मिलाएर भेट्ने उम्मेदवार पौडेलले जानकारी दिनुभयो । महानगरका ११ वटै वडामा आफ्नो संयन्त्र क्रियाशील बनाउँदै चुनाव प्रचारप्रसार कार्यमलाई तीव्रता दिएको पार्टीले जनाएको छ ।