जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार १०:४०

प्रधानमन्त्री ओली र माधव नेपालबीच बालुवाटारको त्यो चार घन्टा, आयो यस्तो निश्कर्ष


काठमाडौं, कात्तिक २८

प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार बालुवाटारमा चार घन्टा लामो छलफल भएको छ । प्रधानमन्त्री ओलीको विशेष बोलावटमा नेता नेपाल बुधबार विहान करिव ११ बजेतिर बालुवाटार जानु भएको थियो ।

नेता नेपाल एक्लै बालुवाटार जानु भएपछि उहाहरुविच लामो भलाकुसारी भएको थियो । यसअघि सचिवालय बैठकमा दुई नेताबीच केही खटपटी भएपछि सम्बन्ध सुधारका लागि प्रधानमन्त्री ओलीले विशेष पहल गर्नुभएको थियो । उसो त नेता नेपालले पनि मिडियामा दुई नेताबीच नकरात्मक सम्वन्धको प्रचार भएपछि यो कुनै ठुलो इस्यु होइन भन्दै सामान्य हो भनेर सम्वन्धलाई थप उचाई दिनु भएको थियो । सोही सन्र्दभलाई लिएर दुवै शिर्ष नेताबीच भेटवार्ता भएको हो ।

भेटवार्ता निक्कै महत्वपूर्ण रहेको स्रोतले जानकारी दिएको छ । सचिवालय बैठकमा केही बुँदामा लिखित र मौखिक असहमति प्रकट गर्दै आउनु भएका नेता नेपाललाई प्रधानमन्त्री ओलीले बुधबार बालुवाटार बोलाउनु भएको थियो । नेता नेपाल बालुवाटार पुग्दा प्रधानमन्त्री ओली खाना खानेक्रममा हुनुहुन्थ्यो । उहाले नेता नेपाललाई देख्ने वित्तिकै खाना खान आग्रह गर्नुभयो । नेता नेपालले आफुले घरमै खाएर आएको जानकारी दिन साथ प्रधानमन्त्री ओलीले एक जना खाने अर्को हेर्ने राम्रो हुदैन भनेर केही खान आग्रह गर्नुभयो ।

नेताहरुको अनुसार त्यहाबाट दुई नेताबीच सम्बादको शुरुवात भएको थियो । दुई नेताबीच पछिल्लो समय देखिएको मनमुटाव कम गर्न छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ । निकै लामो छलफलपछि दुवै नेताले आफूहरूबीच फाटो ल्याउन केही बिचौलिया नेता लागेको निष्कर्ष निकालेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

भेटमा अध्यक्ष ओलीले दुई जना (आफू र नेता नेपाल) बीच दूरी बढाउन केही नेताहरू नै लागी परेको प्रसंग उल्लेख गर्नुभएको थियो । नेता नेपालले पनि सो विषयमा आफूलाई पनि शंका लागेको बताएपछि दुवै नेताले अब यस्ता कमजोरीलाई सच्याएर अगाडी बढ्ने निष्कर्ष निकाल्नु भएको छ । भेटर्वार्तामा अध्यक्ष ओलीले तिक्तता बिर्सिएर दरिलो वैचारिक र सांगठनिक एकताका साथ पार्टी र सरकार सञ्चालन गर्न खोजिएको भन्दै सहयोग गर्न नेपाललाई प्रस्ताव गर्नुभएको थियो । नेता नेपालले पनि यो विषयमा आफु सकरात्मक भएको भन्दै पार्टीलाई एकताबद्ध लैजाने सवालमा सबै भूमिका खेल्न तयार रहेको बताउनु भएको थियो ।

छलफलमा पार्टी सदस्यता व्यवस्थापनदेखि मदन नगर बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवन बनाउनेबारे छलफल केन्द्रित भएको थियो । पार्टी कार्यालय निर्माणको पहल कदमी लिन नेता नेपाललाई अध्यक्ष ओलीले आग्रह गर्नुभएको छ । २०७२ सालको भुकम्पमा बल्खुको पार्टी कार्यालय भत्किएपछि अहिलेसम्म बनाउन नसक्दा भाडाको घरमा पार्टी कार्यालय राखेस संचालन गर्नुपरेको छ । नेता नेपालले सो निर्माणका लागि आफूले अग्रसरता लिने बताउनु भएको थियो । यी दुई नेताबीच भएको लामो छलफललाई नेकपाभित्र नेता कार्यकर्ताले खुशी प्रकट गरेका छन् ।