जनता टाइम्स

१४ श्रावण २०८२, बुधबार ०७:०८

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने बेलायतको घोषणा


काठमाडौं, १४ साउन ।बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री स्टार्मरले युद्धविराममा सहमति, मानवीय सहायता आपूर्तिको प्रतिबद्धतालगायतका शर्तहरू अघि सार्नुभएको बीबीसीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बेलायतको यस्तो कदमले हमासको आतङ्कलाई बढवा दिने प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ ।

गाजामा मानवीय अवस्थाको सुधार र दुई–देशबीचको समस्या समाधानको सम्भावना समाप्त हुँदै गएकाले अहिले नै योजना सार्वजनिक गरेको बेलायतको भनाइ छ ।

हमासले पनि बन्धकहरू तुरुन्त मुक्त गर्न, युद्धविराममा सहमति जनाउन, हातहतियार त्याग्न र गाजाको शासनमा भाग नलिनुपर्ने बेलायतको भनाइ छ ।

फ्रान्सले पनि गएको हप्ता सेप्टेम्बरमै प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरिसकेको छ । अहिलेसम्म विश्वका १३९ देशले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिइसकेका छन् ।

यसैबीचसंयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा भइरहेको भोकमरी र मानवीय सङ्कट अत्यन्तै गम्भीर बन्दै गएको जनाएको छ ।

खाद्य सुरक्षा मूल्याङ्कन निकाय ९आईपीसी० ले गाजाको धेरैजसो क्षेत्रमा भोकमरीको अवस्था गम्भीर तह पार गरिसकेको जनाएको एएफपीले जनाएको छ ।

यदि तुरुन्तै राहत सामग्री सहज रूपमा गाजामा प्रवेश गर्न नदिए स्थिति झनै डरलाग्दो हुने संयुक्त राष्ट्रसङ्घले चेतावनी समेत दिएको छ ।