जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार २०:०९

सिमाका विषयमा चिनले भन्यो – नेपालसँग कुनै विवाद छैन


काठमाडौं, कात्तिक २८

चिनले नेपालसँग सिमाका विषयमा कुनैपनि विवाद नरहेको दावी गरेको छ । चिनको विहिवार एक वक्तव्य निकाल्दै नेपालको कुनैपनि भुभाग अतिक्रमण नगरेको स्पष्ट पार्न खोजेको हो ।

चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङका तर्फबाट निकालिएको बक्तव्यमा सिमा मिचेको कुरा आधारहिन भएको उल्लेख छ । ‘चीनले पनि नेपालको ३६ हेक्टर जमिन मिचेको भन्ने समाचारहरू आएका छन् । यसबारे के भन्नुहुन्छ ?’ भनी सोधिएको थियो । चिनियाँ दूतावासले केही मिडियाहरुले चीनप्रति लगाएको आरोपप्रति दुःख समेत व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘ केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं । यस्ता आरोप आधारहीन छन् । उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ ।’

नेपाल र चीनले १९६१ मा सीमासन्बन्धी सन्धिमा हस्ताक्षर गरेको र त्यसअनुसार सीमा तय गरिएको प्रवक्ताको भनाई छ । हालै मात्र भएको चिनिाँ राष्ट्रपति शी जिनपिङको नेपाल भ्रमणका क्रममा सीमा व्यवस्थापनबारे समेत सहमति भएको स्मरण गर्दै दूतावासका प्रवक्ता वाङले भने, ‘सीमाका विषयमा सहकार्य थप मजबुत बनाउन र बाह्य हस्तक्षेप आउन नदिन चिनियाँ पक्ष तयार छ ।’ उनले नेपाल चीन सम्बन्धलाई कमजोर बनाउने कुनै पनि प्रयास सफल हुन नदिने समेत बताएका छन् । विज्ञप्तिमा वर्षौयता नेपाल र चीनबीच राम्रो सहकार्य हुँदै आएको समेत जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चीनले बाहिरी हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलालगायत सहकार्य थप सुदृढ गर्न चाहेको छ । र, नेपालसँग साझा विकास प्रवद्र्धन गर्न पनि चीनले चाहेको छ ।’

यसैविच, कालापानी सिमाको विवाद नेपाल–भारतको रहेको भन्दै वार्ता र परामर्शका आधारमा टुंग्याउन भनेको छ । ‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ, चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादमार्फत् कालापानीमाथिको बिवाद समाधान गर्नेछन्’, विज्ञप्तिमा भनिएको छ । ‘भर्खरै भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साले नेपाल–भारत सीमा विवादलाई तीव्र बनाएको छ । नेपाली पक्षले यसमा धेरै चासो र असन्तुष्टि व्यक्त गरेको छ । यसबारे चीनको धारणा के छ ?’, भनेर प्रश्न गरिएको थियो । सो प्रश्नको उत्तरमा प्रवक्ता वाङले यो दुई देशको आपसी विषय भएकाले वार्ताबाटै समाधान होस् भन्ने चाहेको उल्लेख गरेका हुन् ।