काठमाडौं, साउन १७। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
रुपन्देहीमा आयोजित राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सञ्चार क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
‘हरेक विषयमा नकारात्मक ढङ्गले अघि बढ्ने प्रवृत्ति बढ्दो छ, तर सकारात्मक सन्देश दिने गरी काम गर्न जरुरी छ, सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन’, उहाँले भन्नुभयो .
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘मुलुक बनाउन बाहिरबाट कोही आउँदैन, हामी आफैँले बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।

सरकार जनताको आवाज सुन्न र समस्याको समाधानका लागि कार्यान्वयनमा जान तयार रहेको स्पष्ट पार्दै मुख्यमन्त्री आचार्यले सञ्चार संस्थाको सङ्ख्या वृद्धि भएकाले बजेटको आकार पनि विस्तार गरिएको जानकारी दिनुभयो । ‘राजस्वमा डेढ अर्बले वृद्धि गर्न सफल भएका छौँ, सुरुमा योजना कम थिए, अहिले ती योजना विस्तार भएका छन्’, उहाँले भन्नुभयो ।
प्रदेश सरकारले सञ्चार क्षेत्रमा अघिल्ला वर्षको तुलनामा बढी बजेट विनियोजन गरेको उल्लेख गर्दै मुख्यमन्त्रीले १२ वटै जिल्लालाई समान दृष्टिकोणका साथ महत्त्व दिइएको र मिडियाको हकहितका लागि निरन्तर वकालत भइरहेको बताउनुभयो । ‘सञ्चार समन्वय परिषद्को भूमिका थप प्रभावकारी बनाउन कानुनी सुधार प्रक्रिया अघि बढाइएको छ, अहिले अर्थ मन्त्रालयमा पुगेको सञ्चारसम्बन्धी ऐन मन्त्रिपरिषद् हुँदै यही वर्षको अधिवेशनमा संसदमा प्रस्तुत हुनेछ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा विभिन्न सञ्चार तथा निजी क्षेत्रका प्रतिनिधिहरूले पनि धारणा राखेका थिए ।













प्रतिक्रिया दिनुहोस्