जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १२:०४

पेस्तोलसहित पक्राउ परेका कार्यकर्ता छुटाउन तरुण दलको नेपालगन्ज बन्द


नेपालगञ्ज, कात्तिक २९

पेस्तोलसहित पक्राउ परेका कार्यकर्ता छुटाउन तरुण दलले आज नेपालगन्ज बन्द गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले प्रहरीले फसाउन खोजेको भन्दै बन्द आव्हान गरेको हो ।

कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित चार जनालाई पक्राउ गरेको थियो । प्रहरीले तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहितलाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई छुटाउन माग राखेर तरुण दलले बजार, विद्यालय तथा सवारीसाधन ठप्प पार्दा स्थानीयबासीले सास्ती खेप्नु परेको छ ।

प्रहरीले मस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा१८च ४२११को कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो । उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीको भनाइ छ । प्रहरीले हतियारसहित पक्राउ परेकालाई कानुनी कारबाही भएरै छाड्ने भन्दै उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरिरहेको छ ।