जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १५:०७

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे कर फिर्ता सम्वन्धी कागजपत्रको फैसला उल्टाउन माग


वासिङ्टन, कात्तिक २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ । राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिज्ञप्ती जारी गरी यस्तो जानकारी गराउनु भएको हो । अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धानअन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले राष्ट्रपति ट्रम्पका नाममा आदेश दिएको थियो ।

न्युयोर्कस्थित जिल्ला वकिलको कार्यालयमार्फत् राष्ट्रपति ट्रम्पको तर्फबाट फैसला उल्टाउन माग गरिएको उहाँले बताउनु भयो । फैसला उल्टाउन ट्रम्पले गरेको यो मागलाई कर सम्बन्धी विवरणलाई गोप्य राख्ने अर्को प्रयासको रुपमा लिइएको छ । यसअघिको राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई तिरिएको भनिएको रकमबारेको अनुसन्धान अन्तर्गतका कागजपत्रहरु अदालतले माग गरेको थियो ।

ट्रम्पका वकिलहरूले राष्ट्रपति पदमा बाहाल रहेका बेला उहाँविरूद्ध फौजदारी अनुसन्धान हुन नसक्ने जिकिर गरिरहेका छन् । नीहरूले सर्वोच्च अदालतले उक्त संवैधानिक विषयलाई राष्ट्रपतिले पाउने उन्मुक्तिसँग जोडेर हेर्नुपर्ने माग गरिरहेको समाचारमा जनाइएको छ ।