सुनसरी, साउन २६ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित जलुवाटोलमा आज बिहान बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान करिब ७ः१५ बजे पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १२ जनाको अवस्था मध्यम र १ जनाको सामान्य छ ।

घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा ल्याइएका १५ जनामध्ये २ जना पुरुषको मृत्यु भएको हो । १ जनाको अवस्था गम्भीर र १२ जना मध्यम अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै, जिल्ला अस्पताल इनरुवामा ल्याइएका ५ जनामध्ये १ जना महिलाको मृत्यु भएको, ३ जनालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा रेफर गरिएको र १ जनाको सोही अस्पतालमा सामान्य उपचार भइरहेको छ ।

दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा खटिएर उद्धार कार्यमा जुटेको थियो । प्रहरी झापाको अर्जुनधारा नगरपालिका–१ बस्ने ३६ वर्षीय बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विङ्गरका चालक घाइते भएकाले उपचारका लागि अस्पताल पठाइएको छ ।













प्रतिक्रिया दिनुहोस्