जनता टाइम्स

३० कार्तिक २०७६, शनिबार १२:५५

सम्बन्ध र छिमेकी मित्रका नाममा नेपालले आफ्नो एक इन्च जमिन छाडदैन : परराष्ट्रमन्त्री ज्ञवाली


पाल्पा, कात्तिक ३० । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले कालापानीसहितको सिमा विवादका बारेमा सरकारले भारतसंग कुटनीतिक पहल शुरु गरिसकेको जानकारी दिनुभएको छ । पाल्पाली कवि निलकण्ठ न्यौपानेको श्रम साधना महाकाव्यको विमिचोन कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सो जानकारी दिनुभएको हो ।

‘सरकारको पहिलो काम नेपाली भूमि र त्यहाँका नागरिकको रक्षा निम्ति क्रियाशिल छ, त्यसमा ढुक्क रहन आग्रह गर्दुछु,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो । सिमाको मुद्दा सेलाउदै जाने वा सरकार पछि हट्छ कि भनेर शंका नगर्न समेत उहाँले आग्रह गर्नुभयो । सुगौली सन्धिले पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म निर्धारण गरेको नेपालको सिमालाई रक्षा गर्न सरकार दृढ रहेको मन्त्री ज्ञवालीले बताउनु भयो ।

वर्तमान सिमा विवादका बारेमा विगतमा भएका सम्झौता, सन्धि, तथ्य र प्रमाणका आधारहरुमा दुई देश बिच मित्रतापूर्ण आधारमा सरकार सल्टाउने जानकारी दिनुभयो । ‘नेपालको सिमाका बारेमा नेपाली जनता, राजनीतिक दल र सरकारको भवना मिलेको र एकमत भएको बेला छ, त्यसैले यही उर्जालाई साथ लिएर नेपालले आफ्नो एक इन्च जमिन सम्बन्ध र छिमेकी मित्रका नाममा छाडदैन,’ ज्ञवालीले भन्नुभयो ।

सरकार ठूलो परिर्वतन पश्चात बनेर देशको समृद्धि निर्माणमा अगाडी बढेको जानकारी पनि उहाँले गराउनु भयो । धेरै नयाँ बिषयमा जग राख्ने काम भइरहेको भन्दै मन्त्री ज्ञवालीले देशमा परिर्वतनका संकेतहरु देखिएको र हिजो भन्दा धेरै राम्रा पक्षहरु निर्माण भएको ठोकुवा गर्नुभयो ।