जनता टाइम्स

२९ श्रावण २०८२, बिहीबार २०:२६

औँलाको टुप्पो किनेर लैजाने २ व्यक्ति पक्राउ


काठमाडौं, २९ साउन ।  पशुपति आर्यघाटमा जलिरहेको शवका अंग खरिद गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने सर्लाही जिल्लाको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी जिल्ला बलानबिहुल घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव हुन् । काठमाडौं प्रहरी प्रवक्ता एसपी कुलदीप चन्दले उनीहरू पक्राउ परेको पुष्टि गर्नुभएको छ । उनीहरूले बनेपा– ९ का राम शाहीको जलिरहेको शवबाट कान्छी औंलाको टुक्रा र खरानी खरिद गरेका थिए । मलामीले घाटे ब्राह्मणले खुट्टाको मासु नै बेचेको भन्दै प्रहरीलाई उजुरी गरेपछि काभ्रेकै मण्डन देउपुर घर भएका ६१ वर्षीय घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी, उदयपुर, कटारीका २४ वर्षीय विनायक मैनाली पक्राउ परेका थिए । उनीहरूले जलिरहेको शवबाट कान्छी औँलाको टुप्पोको सानो भाग र खरानी ४ सय रुपैयाँको लोभमा दिएको स्वीकार गरेका थिए । तर, ४ सय दिएर अंग माग गर्ने व्यक्तिले ‘भगवानको पूजा गर्नुपर्ने’ भनेको उनीहरूले प्रहरीलाई बताएका थिए । तर, कुन भगवानको पूजा गर्न मृत शरीरको अंग र खरानी चाहिन्छ ? यसबारे अनभिज्ञता प्रकट गरेका थिए ।