जनता टाइम्स

१ मंसिर २०७६, आईतवार १६:३१

काठमाडौंबाट समातिए भारतीय नागरिक, यस्तो छ कारण


काठमाडौं, मंसिर १ । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँ रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त कालिमाटीले उक्त रकमसहित आइतबार बिहान भारत बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो।

काठमाडौं(१४ कुलेश्वरमा डेरा गरी बस्ने उनले भारतीय नोट र हुण्डी कारोबार गर्ने गरेको सूचना पाएपछि बृत्तको टोली खोजीमा गएको थियो। प्रसादलाई डेराबाटै उक्त रकमसहित नियन्त्रणमा लिइएको बृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो। कुँवरका अनुसार उनको साथबाट ३७ लाख पाँच हजार बराबरको विभिन्न बैंकका ६ थान चेक, १ लाख १९ हजार रुपैयाँ भारु, विभिन्न बैंकका ६ थान चेकबुक र मोबाइल बरामद भएको छ।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ। डिएसपी कुँवरका अनुसार उनी तीस वर्षदेखि नेपालमा बस्दै आएको थाहा भएको छ। ‘भारतीय नोटको गैरकानुनी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी उनको कोठामा पुगेको थियो,’ कुँवरले जनताटाइम्ससँग भन्नुभयो। ‘भारतीय नोटसँगै हुण्डीको रकम पनि फेला पर्‍यो।’