जनता टाइम्स

७ भाद्र २०८२, शनिबार ०७:२९

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा अनिकाल घोषणा : निर्णय सही नभएको इजरायलको प्रतिक्रिया


काठमाडौं, ७ भदौ । संयुक्त राष्ट्रसङ्घले गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ठूलो भोकमरीको सङ्कट सामना गर्नुपरेको उल्लेख छ ।

राष्ट्रसङ्घका उच्च अधिकारीहरूले प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्‍याएको आरोप समेत लगाएका छन् । तर इजरायलले गाजा शहर र आसपासका क्षेत्रमा अहिले गरिएको अनिकाल घोषणा सही निर्णय नभएको र ‘निहित स्वार्थ’ रहेको टिप्पणी गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अनिकाल घोषणाको निन्दा गरेको समाचार संस्था एएफपीले जनाएको छ । अनिकालको आँकलन संयुक्त राष्ट्रसङ्घले जिम्मेवारी दिएको ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ ९आईपीसी०’ ले गरेको थियो ।

यसले २० प्रतिशत घरधुरीमा खाद्यान्नको चरम अभाव हुँदा अनिकाल हुने उल्लेख गरेको छ । गाजामा पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् । हरेक १० हजार मानिसमध्ये कम्तीमा दुई जनाको दैनिक भोकमरी वा कुपोषण र रोगका कारण ज्यान जाने गरेको छ ।

इजरायलले हमासविरुद्ध निरन्तर आक्रमण गरेपछि गाजामा महिनौँदेखि मानवीय अवस्था बिग्रँदै गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा तत्काल युद्धविराम गर्न, इजरायलबाट हमासले बन्धक बनाएका सबैलाई रिहा गर्न र गाजामा पूर्ण मानवीय पहुँचका लागि पुनः आह्वान गर्नुभएको छ ।