यसरी हेर्दा, भण्डारीको मौनता अब लामो समय टिक्न सक्दैन। जसरी झाको प्रचारले उहाँ बारे गहिरो संशय जन्माएको छ, त्यसलाई सम्बोधन नगरेसम्म उहाँको नाम निरन्तर विवाद र अनुमानमा घेरिरहनेछ । अन्ततः यस सम्पूर्ण प्रकरणले नेपालको राजनीतिक संस्कृतिमा फेरि एक पटक ‘विश्वासघात’ र ‘व्यक्तिगत महत्त्वाकाक्षा’ को रोगले जरा गाडिरहेको पुष्टि मात्रै गर्नेछ ।
-नवराज पथिक-
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाबीच भएको आजको भेटवार्ता नेपाली राजनीतिमा निकै चासोको विषय बनेको छ । मंगलबार पूर्वराष्ट्रपति भण्डारी र रास्वपा प्रवक्ता झाबीच भएको भेट सामान्य शिष्टाचार मात्र हो वा गहिरो राजनीतिक सङ्केत बोकेको हो भन्ने बहश सुरु भएको छ ।
नेपालको राजनीतिक भूमण्डलमा सानो सङ्केतलाई पनि ठुलो अर्थ लगाउने परम्परा पुरानै भए तापनि आजको भेट र भेटपछि दिइएको झाको अभिव्यक्तिले चर्चा पाएको हो । भेटपछि सार्वजनिक भएको व्याख्या र त्यसको प्रचारले भण्डारीको भविष्यको राजनीतिक भूमिकाबारे पनि ठुलो प्रश्न खडा गरेको छ ।
पूर्वराष्ट्रपति भण्डारीले भेटबारे मौनता अपनाउनु भएको छ, तर झा भने भेटपछि सञ्चार माध्यमसँग निरन्तर बोलिरहनु भयो । उहाँले दिएको अभिव्यक्ति र व्याख्या त्यति साधारण छैनन ।
झाले भण्डारीले नयाँ राजनीतिक दलप्रति सद्भाव देखाउनु भएको, एमालेभित्र नेतृत्वका अवसर नपाए नयाँ बाटो खोज्न सक्ने सोच व्यक्त गर्नुभएको, रास्वपाप्रति सहानुभूति राख्नुभएको, यहाँसम्म कि सहकारी प्रकरणमा रवि लामिछानेलाई सरकारले बदनीयत र राजनीतिक पूर्वाग्रहका आधारमा दुःख दिएको भन्दै असन्तुष्टि जनाउनु भएको दाबी समेत झाको छ ।
यदी झाले भनेजस्तै पूर्वराष्ट्रपति भण्डारीले यी कुरा भन्नुभएको हो भने यसलाई केवल ‘अनौपचारिक टिप्पणी’ भनेर पन्छाउन सकिँदैन । बरु, यसले एमालेप्रति भण्डारीको भविष्यको सोच र प्रतिबद्धता कस्तो छ भन्ने गम्भीर प्रश्न खडा गर्छ ।
नेकपा एमालेभित्र दशकौँ लामो राजनीतिक यात्रा तय गरेर पार्टी उपाध्यक्ष, सांसद, मन्त्री हुँदै राष्ट्रपति बन्नुभएकी भण्डारीले अन्ततः एमालेकै जरा कमजोर पार्ने खेलमा लाग्ने हो त भन्ने संशय यथार्थ होस वा भ्रम, अहिले राजनीतिक बहशको केन्द्र बनेको छ । राजनीतिमा सधैँ अवसर मात्रै खोज्ने हो ? भन्ने गम्भीर प्रश्न पनि खडा गरेको छ ।
झाको प्रचार र सचिवालयको प्रतिवाद
भेटपछि निरन्तर सञ्चारमाध्यममा उपस्थित रहँदै झाले भण्डारीलाई आफू अनुकूल व्याख्या गरेर अतिरञ्जित रूपमा प्रचार गरेको आरोप पनि लागेको छ । भण्डारीकै स्वकीय सचिव राजकुमार राईले स्पष्ट रूपमा भन्नुभयो, ‘पूर्वराष्ट्रपतिसँग समाजका विभिन्न क्षेत्रका अगुवाहरू, नेताहरू नियमित रूपमा संवाद र छलफल गर्दै आउनु भएको छ । त्यही क्रममा झा भेट्न आउनुभएको मात्रै हो । तर त्यसलाई आफू अनुकूल व्याख्या गरी गलत प्रचार गर्नु अनुचित छ ।’
झाले भण्डारीको मुखारबिन्दबाट आएको भनेर प्रस्तुत गरेका कतिपय भनाइहरू गम्भीर छन् । एमालेले उहाँलाई सांसददेखि मन्त्री, पार्टी उपाध्यक्ष हुँदै मुलुकको पहिलो महिला राष्ट्रपति बनायो । तर अहिले त्यही पार्टीभित्र उहाँले आफ्नो सम्भावना देख्नुभएको छैन भन्ने सङ्केत भेटको व्याख्यामा आयो । यदि यो सत्य हो भने यसलाई ‘एमालेमाथिको घात’ मात्र होइन, ‘एमाले ध्वस्त बनाउने सकुनी षडयन्त्र’ को सुरुवातको रूपमा पनि बुझ्न सकिन्छ ।

यस्तो स्पष्टीकरणले झाको अभिव्यक्ति मात्र ‘राजनीतिक हावादारी’ हो भन्ने सन्देश दिन खोजेको देखिन्छ । तर झाले दिएको तवरले कुरा ‘भण्डारीले यसो भन्नुभयो’ भन्ने शैलीमा आएका कारण सार्वजनिक बहश चर्किन पुगेको हो । सामान्यतया पूर्वराष्ट्रपति आफैँले यस्ता विवादास्पद विषयमा बोल्नु भएन भने सचिवालयले मात्र प्रतिक्रिया दिनु पर्याप्त हुँदैन । राजनीतिक रूपमा वजन राख्ने व्यक्तित्वले मौनता धारण गर्दा झैँ–झैँमा पनि ‘त्यसै सही’ भन्ने व्याख्या फैलिन सक्छ ।
एमालेप्रति प्रश्न उठाउने अभिव्यक्ति
झाले भण्डारीको मुखारबिन्दबाट आएको भनेर प्रस्तुत गरेका कतिपय भनाइहरू गम्भीर छन । एमालेले उहाँलाई सांसददेखि मन्त्री, पार्टी उपाध्यक्ष हुँदै मुलुकको पहिलो महिला राष्ट्रपति बनायो । तर अहिले त्यही पार्टीभित्र उहाँले आफ्नो सम्भावना देख्नुभएको छैन भन्ने सङ्केत भेटको व्याख्यामा आयो । यदि यो सत्य हो भने यसलाई ‘एमालेमाथिको घात’ मात्र होइन, ‘एमाले ध्वस्त बनाउने सकुनी षडयन्त्र’ को सुरुवातको रूपमा पनि बुझ्न सकिन्छ ।
नेपालको वाम राजनीतिमा पहिले पनि यस्ता ‘व्यक्तिगत महत्त्वाकांक्षा’ कै कारण पटक–पटक फुट र सङ्कट देखा परेको इतिहास छ । माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, डा. बाबुराम भट्टराई, बिप्लव, बैद्य, प्रचण्ड आदिको उदाहरण यथेष्ट छन । त्यही इतिहासलाई दोहोर्याउने सम्भावित सङ्केत भण्डारीबाट देखिएको हो भने एमालेको लागि यो ठूलो घात हो ।
न्यायालय विचाराधीन विषयमा पूर्वराष्टरपतिको अभिव्यक्ति !
झाले दिएको अर्को व्याख्या अझै गम्भीर छ । उहाँका अनुसार, भण्डारीले सहकारी मुद्दामा रवि लामिछानेलाई सरकारले दुःख दिएको बताउनुभयो । प्रश्न उठ्छ – पूर्वराष्ट्रपति भइसकेको व्यक्तिले न्यायालय विचाराधीन विषयमा यस्तो टिप्पणी गर्न मिल्छ ? यो त न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाउने खालको अभिव्यक्ति हो ।
देशको सर्वोच्च संवैधानिक पदमा पुगेको व्यक्तिले क्षणिक ताली पाउन वा केही नेतासँग नजिक देखिन यस्ता अभिव्यक्ति दिनु भनेको हो भने आफ्नो गरिमा घटाउनु भएको हो । भण्डारी जस्तो व्यक्तित्वले दीर्घकालीन प्रभाव र संस्थागत सन्तुलन सोच्नुपर्छ । अन्यथा, उहाँले अहिलेसम्म कमाएको सम्मान, विशेष गरी ‘देशको पहिलो महिला राष्ट्रपति’ को पहिचान नै विवादमा पर्न सक्छ ।
रास्वपाको अभिभावक बन्ने कस्ता अभिलाषा ?
झाले दिएको अर्को चर्चा योग्य अभिव्यक्ति हो, ‘तपाईहरू विचारको बहश गर्नुहोस, मैले के सघाउनुपर्छ भन्नुहोस, म अभिभावकको भूमिकामा तयार छु ।’ अब प्रश्न यो हो– कसको अभिभावक बन्न खोज्दै हुनुहुन्छ भण्डारी ? एमाले नेतृत्वको सबैभन्दा बढी आलोचना गर्ने, एमालेमाथि निरन्तर प्रहार गर्ने प्रवृत्तिसँगै चलेर उहाँले रास्वपालाई नै अभिभावकत्व दिन खोजेकी हो कि भन्ने प्रश्न उठ्छ ।
नेपालको राजनीतिक संस्कृतिमा ‘अभिभावक’ शब्द निकै भारी छ । पार्टी छाडेर गएर अर्को पार्टीको संरक्षक बन्ने कुरा सामान्य राजनीतिज्ञको लागि त सहज होला, तर पूर्वराष्ट्रपतिले भने यस्तो भूमिका लिने हो भने त्यो देशकै राजनीतिक मूल्यमा ठेस पुर्याउने खालको हुन्छ ।
एमालेको विधान अधिवेशन र भण्डारीको सम्भावित योजना
झाले दिएको व्याख्याअनुसार, भण्डारी अहिले नेकपा एमालेको विधान अधिवेशनसम्म पर्खने मुडमा हुनुहुन्छ । त्यहाँबाट आफूले खोजेजस्तो भूमिकामा नपुगेमा रास्वपातर्फ ढल्किन सक्ने सङ्केत हो त यो ? यो योजना यथार्थ हो भने एमालेभित्र आगामी अधिवेशन अत्यन्तै संवेदनशील बन्नेछ । किनकि भण्डारीजस्तो व्यक्तित्व अध्यक्ष पदको आकांक्षी भए पनि पार्टीले त्यसलाई स्विकार्ने सम्भावना न्यून छ ।
अध्यक्ष केपी शर्मा ओलीसँगको नजिकपन कै कारण उहाँ राष्ट्रपति बन्नुभएको भन्ने टिप्पणी पार्टीभित्रै हुने गरेको छ । तर आजको सन्दर्भमा ओलीले आफ्नो उत्तराधिकारीका रूपमा भण्डारीलाई अघि सार्ने कुरा कल्पना बाहिरको बिषय बनेको छ । हिजो भण्डारीलाई राष्ट्रपति बनाउँदा केपी ओलीको विरोध गर्नेहरू आज भण्डारीको पक्षमा उभिएका छन । यो कस्तो स्वार्थ हो ? केले उहाँहरूलाई जोड्यो ?
एमालेभित्र सम्भावना नभएको देखेपछि रास्वपालाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्ने सोच देखिएको हो भण्डारीमा भने त्यो एमालेका लागि मात्र होइन, समग्र वाम राजनीतिका लागि ठुलो चुनौती हो ।
भण्डारीको मौनता र बढ्दो संशय
यो सम्पूर्ण प्रकरणमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भण्डारीको मौनता हो । उहाँले यस विषयमा प्रत्यक्ष प्रतिक्रिया दिनुभएको छैन। मौनता शक्तिशाली सन्देश पनि हुन सक्छ । तर यस सन्दर्भमा मौनताले संशय मात्र बढाएको छ।
सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूका लागि मौनता प्रायः ‘स्वीकृति’ को रूपमा बुझिन्छ । यदि उहाँले झाको भनाइलाई असत्य ठान्नुहुन्थ्यो भने तुरुन्तै खण्डन गर्नुहुन्थ्यो । तर अहिलेसम्म त्यो नभएकोले झाको प्रचारलाई धेरैले ‘भण्डारीकै सङ्केत’ का रूपमा बुझिरहेका छन्।
दीर्घकालीन प्रभाव र राजनीतिक सन्देश
भण्डारी राजनीतिक सक्रियताबाट निवृत्त भएर केवल सामाजिक योगदानमै सीमित हुने हो कि फेरि सक्रिय राजनीतिमा फर्कने हो भन्ने प्रश्न लामो समयदेखि उठ्दै आएको थियो । राजनीतिमा अवसरवादी मोड–मोडमा देखिने पात्रको सूची लामो छ । तर मुलुककै अभिभावक पद सम्हालेको व्यक्तिले पनि त्यसै धारलाई निरन्तरता दिन खोज्ने हो भने यसले समग्र राजनीतिक संस्कृतिलाई थप अविश्वसनीय बनाउनेछ ।
निष्कर्ष
पूर्वराष्ट्रपति भण्डारी र रास्वपा प्रवक्ता मनिष झाको मंगलबारको भेट सामान्य शिष्टाचार मात्र थिएन भन्ने सङ्केत झाको प्रचार र त्यसको व्याख्याबाट प्रष्ट हुन्छ । भण्डारी मौन हुनुहुन्छ, सचिवालयले झाको अभिव्यक्तिलाई अतिरञ्जना मात्र भनेको छ ।
भण्डारीका एमालेकै विरोधी धारसँग नजिकिने कार्यले उहाँको राजनीतिक हैसियतलाई अलि बढी विवादास्पद बनाएको छ । अझ पार्टी नेतृत्वको बचाउ गर्नुपर्ने बेला विरोधमा उत्रिनु बेमौसमको बजा भएको छ ।
यसरी हेर्दा, भण्डारीको मौनता अब लामो समय टिक्न सक्दैन। जसरी झाको प्रचारले उहाँ बारे गहिरो संशय जन्माएको छ, त्यसलाई सम्बोधन नगरेसम्म उहाँको नाम निरन्तर विवाद र अनुमानमा घेरिरहनेछ । अन्ततः, यस सम्पूर्ण प्रकरणले नेपालको राजनीतिक संस्कृतिमा फेरि एक पटक ‘विश्वासघात’ र ‘व्यक्तिगत महत्त्वाकाक्षा’ को रोग जरा गाडिरहेको पुष्टि मात्रै गर्नेछ ।













प्रतिक्रिया दिनुहोस्