जनता टाइम्स

१३ भाद्र २०८२, शुक्रबार १७:५२

दशैँ विशेषका लागि सिँगारिँदै ऐतिहासिक शक्तिपीठ खाँडादेवी मन्दिर


रामेछाप, भदौ १३ । रामेछापको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवी मन्दिरमा यस वर्षको दशैँ विशेषका लागि सिँगारपटारकाे काम सुरु भएको छ । दशैँलाई लक्षित गरी मन्दिर परिसरमा फूलका बिरुवा हुर्काइएका छन् भने सरसफाइ तथा सजावटको काममा खाँडादेवी विकास कोष जुटेको अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

दशैँको नौरथ सुरु भएपछि देशभरका भक्तजन दर्शन र बलिपूजाका लागि खाँडादेवी आउने भएकाले त्यसको व्यवस्थापनलगायत तयारी थालिएको उहाँले बताउनुभयो । ‘खाँडादेवीसँग भाकल गरेर मागेको कुरा पूरा भएपछि बलि पूजा गर्ने परम्परा रहेको हुँदा दशैँमा दर्शनार्थीको ठुलो भीड लाग्ने गर्छ,’ अध्यक्ष तामाङले भन्नुभयो ।

दशैँको समय विशेष छुट्टी हुने भएकाले मन्दिरमा आउने भक्तजनको चाप बढ्ने गर्दछ। साउनमा दर्शनार्थीको सङ्ख्यामा केही कमी देखिए पनि भदौ लागेपछि साे क्रमशः बढ्दै गएको छ । सोह्रश्राद्ध सकिएसँगै दशैँ नजिकिँदा दैनिक सयौँ दर्शनार्थी खाँडादेवी पुग्ने गर्दछन् ।

नेपालकै पुरानो शक्तिपीठमध्ये मानिने खाँडादेवी मन्दिरको ऐतिहासिकता पनि विशेष छ । विसं १५७३ मा मन्दिरमा चढाइएको ठुलो घण्ट आजसम्म सुरक्षित छ भने त्यसअघि चढाइएका चाँदीका जन्तरलगायत गहना अहिले पनि सुरक्षित अवस्थामा छन् । दरबारबाट चढाइएका ती धरोहरहरूले खाँडादेवी मन्दिरको ऐतिहासिकता प्रमाणित गर्ने गरेको छ ।

जनश्रुति अनुसार, नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले सिन्धुलीगढीपछि खाँडादेवीलाई सहायक गढीका रूपमा उपयोग गर्नुभएको थियो । युद्ध जित्न खाँडादेवीको आशीर्वाद लिएको र युद्धपश्चात् खाँडादेवीको शिला तीन पटकसम्म दरबार लैजान खोज्दा पनि बाटोमै हराएर पुनः मन्दिरमै फर्किने गरेको जनश्रुति रहँदै आएको छ । त्यसपछि पृथ्वीनारायण शाहले खाँडादेवीसहितका देवीदेवताहरूलाई बलि दिने परम्परा स्थापना गर्नुभएको विश्वास गरिन्छ ।

उहाँकै आदेशअनुसार खाँडादेवीमा कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका तथा गणेशलाई कुखुराको पोथी बलि दिने परम्परा आजसम्म चलनमा छ । पहिले यो पूजाको खर्च दरबारबाटै आउने गर्थ्यो भने अहिले खाँडादेवी विकास कोषले त्यसलाई निरन्तरता दिँदै आएको छ ।

कोषले हरेक वर्ष बडादशैँको नवमी र चैते दशैँको नवमीका दिन सरकारी पूजा गर्दै आएको छ । साथै, खाँडादेवी मन्दिरको संरक्षण, पूजा तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य पनि कोषमार्फत हुने गर्दछ ।