जनता टाइम्स

२ मंसिर २०७६, सोमबार १५:४७

फ्ल्याट भाडामा लिएर यौनधन्दा, युवतीको तस्बीर देखाएर यसरी हुन्थ्यो पैसाको मोलमोलाइ


झापा, मंसिर २

पूर्व–पश्चिम राजमार्ग आसपासका होटेल तथा लजहरू यौनजन्य क्रियाकलाप मौलाएको छ। झापाका होटल तथा लजहरू यौनजन्य क्रियाकलाप मौलाएको अवस्थामा प्रहरीले शनिबार एक घरको फ्ल्याटमा छापा मारेर आठ जना युवतीको उद्धार गरेको छ । अर्जुनधारा नगरपालिका ६ स्थित माता मन्दिरनजिकै फ्ल्याट भाडामा लिएर यौनधन्दा सञ्चालन गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो ।

फ्ल्याट भाडामा लिएर यौनधन्दा सञ्चालन गर्दै आइरहेकी सोही वडाकी शोभादेवी खत्री फरार भएको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहन थापाले जानकारी दिनुभयो । खत्रीको खोजी कार्य भइरहेको डिएसपी थापाले बताउनुभयो । ‘उद्धार गरिएका युवतीसँग सोधपुछ गरिरहेका छौं’, डिएसपी थापाले भन्नुभयो, ‘युवतीसँग सोधपुछ गर्दा सो फ्ल्याट भाडा लिएर महिला खत्रीले दुई महिनादेखि यौनधन्दा सञ्चालन गरिरहेको खुलेको छ।’

उद्धार गरिएका युवतीहरू भारतीयसहित पोखरा, धनुषा, उदयपुर र पूर्वी जिल्लाका रहेका छन्। यता महिला खत्री विरुद्ध प्रहरीले मानव बेचबिखनको मुद्दा दर्ता गरेर कारबाही अघि बढाइसकेको छ। जिल्लाको विभिन्न स्थानबाट यौन प्यास मेटाउन पुग्ने पुरुषलाई अखडा चलाउने सञ्चालकले युवतीको तस्बीर देखाएर पैसाको मोलमोलाइ गर्ने गरेकी एक युवतीले प्रहरीलाई बयानका क्रममा बताएकी छिन् ।

फ्ल्याटमा आउने, युवती छान्ने, त्यसपछि बिर्तामोड, दमक र काँकडभिट्टाका होटेल तथा लजसम्म लैजाने गरेको अर्को एक युवतीको बयानलाई उदृत गर्दै प्रहरीले जानकारी दिनुभयो । त्यसबापत अखडा सञ्चालक खत्रीले एक रातको ७ र एक पटक बसेको ३ हजारसम्म लिने गरेको खुलेको छ। तर, सञ्चालक खत्रीले युवतीलाई त्यसबापत ५ सयदेखि एक हजारसम्म दिने गरेको खुलेको प्रहरीले जनाएको छ।