काठमाडौं, असोज २ । भदौ २३ गतेबाट सामाजिक सञ्जाल खुल्ला गर्नुपर्ने र भ्रष्टाचार अन्त्य हुनु पर्ने माग राख्दै देशव्यापी आन्दोलन चलाउने तयारी जेनजी समूहले गरेको थियो ।
सामाजिक सञ्जालको प्लेटफर्म मार्फत आन्दोलनको तयारी गरिरहेको जेनजी समूहलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले भदौ २२ गते साँझ एउटा फेसबुक स्ट्याटस लेख्नुभयो । ‘भोलीको र्याली स्पष्ट स्वतस्फुर्तरुपमा जेनजीको हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसोकोलागि म पनि अझै बुढो देखिन्छु, मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ, भोलि यो स्वतःस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला, म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ, प्रिय जेनजी भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनु हुन्छ ?’, उहाँको भदौ २२ गते रातिको फेसबुक स्ट्याटस यस्तो थियो ।
यो स्ट्याटसले आन्दोलनमा बालेनको समर्थन मात्र होइन आन्दोलन उहाँकै निर्देशनमा भए जस्तो देखिन्छ । उहाँले कसलाई आन्दोलनमा आउने, कसलाई नआउन भनेर स्पष्ट निर्देशन गर्नुभएको छ ।
२३ गतेको आन्दोलनमा युवाहरूको ज्यान गएपछि बालेनका फेसबुक स्ट्याटस अझ आक्रामक देखिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गर्नेदेखि आन्दोलनकारी उकास्नेसम्मका काम बालेनले फेसबुक मार्फत नै गर्नुभयो ।
जब भदौ २४ गते सरकारी, सार्वजनिक र व्यक्तिगत संरचनाको ठुलो क्षति भयो, प्रधानमन्त्रीको राजीनामा आयो । त्यस पछि सो दिन दिउँसो ३ः१५ मा बालेको अर्को स्ट्याटस आयो । उहाँले फेसबुकबाट नै आन्दोलनकारीलाई निर्देशन दिनुभयो– राष्ट्रपतिसँग होइन सेना प्रमुखसँग वार्ता गर्नुस्, वार्ता अघि संसद् विगठन पहिलो सर्त राख्नुस् ।
सोही दिन साँझ उहाँको अर्को स्ट्याटस आयो–‘देश तपाईँहरूकै हातमा हो, तपाईँहरूले नै बनाउने हो, अब जति क्षती हुन्छ तपाईँ हाम्रो नै हुने हो, अब घर फर्कनुहोस् ।’ त्यस बेलासम्म पनि आन्दोलनको कमाण्ड कोठा भित्र बसेर बालेनले गरेको स्पष्ट हुन्छ ।
भदौ २५ गते राति बालेनको लामो फेसबुक स्ट्याटस आयो । जसमा प्रधानमन्त्रीमा आएको सुशीला कार्कीको नाममा समर्थन जनाउँदै अन्तरिम सरकार गठन र संसद् विगठनसम्मका कुरा लेखिएको थियो ।
भदौ २७ गते आन्दोलनमा मारिएकाहरुको नाममा दीपावली गरिएको फोटो राख्दै बालेकाे अर्को स्ट्याटस आयो । ‘तपाईँहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ, वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली, तपाईँहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देश प्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ, तपाहरूप्रति असीम सम्मान, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’, स्ट्याटसमा लेखिएको छ ।
बालेकै माग अनुसार सुशीला कर्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । आफ्ना कानुनी सल्लाहकारलाई गृह तथा कानुन मन्त्री बनाउन बालेन सफल हुनुभयो । बालेनले रोजेको मन्त्रालय बालेनका सहयोगीले पाउनु भयो । तर आफैँले रोजेको, अझ भन्दा आफैँले सिफारिस गरेको व्यक्ति प्रधानमन्त्री बन्दा पनि बालेन शपथग्रहण समारोहमा जानुभएन ।
आन्दोलनमा मारिएकाका आफन्तहरू रोइरहेका छन्, आन्दोलनका घाइते अस्पतालको बेडमा छटपटाइरहेका छन् । यस्तो बेलामा आन्दोलनको कमाण्डरले घर–घरमा पुगेर, घाइतेहरूको बेड–बेडमा पुगेर सहानुभूति र सान्त्वना दिनु पर्ने हो । तर बालेनले उहाँहरूलाई भेटेर सान्त्वना दिन समेत आवश्यक ठान्नु भएन वा सक्नु भएन। त्यो त भएन भएन आफैँले आन्दोलनमा जाउ भनेर पठाएका मृतकहरूको अन्तिम श्रद्धाञ्जलीमा समेत बालेन देखिनु भएन ।
बालबालिकालाई युद्धमा लड्न जाऊ भन्ने एउटा कमाण्डरको मनले यो सबै कुरा कसरी थाम्यो होला ? यो उहाँको बाध्यता थियो की, सनकीपन, अथवा जबाफदेहीहीनता ? यसको जवाफ पक्कै समयले दिने छ ।













प्रतिक्रिया दिनुहोस्