जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार १०:५३

विमान उड्ने तयारी गर्दै गर्दा चट्याङ परेपछि


काठमाडौं, मंसिर ५

न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको दृश्य एक प्रत्यक्षदर्शीले खिचेका छन् ।

एमिरेट्स विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ पछाडि देखिने उक्त तस्बिर विमानस्थलमै रहेको एउटा हेलिकप्टरका चालकले स्थानीय समयानुसार अपरान्ह ३ः३० बजे खिचेका थिए । उक्त कम्पनीले आफ्नो फेसबुक पेजमा आफ्नो झ्यालबाहिर त्यस्तो दृश्य देखिएको उल्लेख गर्दै तस्बिर प्रेषित गरेको छ ।

उसका अनुसार उक्त विमान हावाहुरी चलेका कारण धावनमार्गमै रोकिएको थियो । न्यूजील्यान्डको मौसम हेर्ने निकायले उक्त क्षेत्रमा चट्याङसहित हावाहुरी आउन सक्ने चेतावनी दिएको थियो ।

क्यान्टबरीका कतिपय क्षेत्रमा ठूलो हवाहुरी र अण्डाजत्रा असिना परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय सांसद एन्ड्र्यू फ्यालूनले आफ्नो कार्यलयबाहिर परेको असिनाको भिडिओ खिचेकाट्विटरमा प्रेषित गरेका छन् । न्यूजील्यान्डको मेटसर्भिसले दुई घण्टाको अवधिमा उक्त क्षेत्रमा सात सयवटा चट्याङ परेको जनाएको छ । तर मौसमसम्बन्धी चेतावनी अहिले हटाइसकिएको अधिकारीहरूले जनाएका छन् । (बिबिसी)